वीरगञ्जमा नेसंसा पार्टी पर्सा जिल्ला कमिटी गठन, रिजवान अन्सारीको जोड संगठन विस्तारमा

वीरगञ्जमा नेसंसा पार्टी पर्सा जिल्ला कमिटी गठन, रिजवान अन्सारीको जोड संगठन विस्तारमा

वीरगञ्ज । नेपाल संघीय समाजवादी पार्टीको पर्सा जिल्ला कमिटी गठन गरिएको छ । वीरगञ्जमा सम्पन्न भेलाले पार्टीका पर्सा जिल्ला इन्चार्ज सोहेब अन्सारीको उपस्थितिमा तथा राकिब हुसेनको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति चयन गरेको हो।

भेलाबाट रियाज अहमद अध्यक्षमा चयन भएका छन् भने उपाध्यक्षमा विनोद पासवान र इमरान अली चयन भएका छन् । त्यसैगरी सचिवमा सबनम खातुन, सह–सचिवमा मोहम्मद हारुन र नोर्से आलम चयन भएका छन् । सल्लाहकार समितिमा राकिब हुसेन, डाक्टर रकिफ र अब्दुल रौफलगायत रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी सहभागी हुनु भएको थियो । कार्यक्रममा मधेस प्रदेश संसदीय दलकी नेतृ तथा पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री बिमला अन्सारी, केन्द्रीय सदस्य सुरेश हजरा लगायत नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष मोहम्मद रिजवान अन्सारीले संघीयता, समावेशिता र सामाजिक न्यायको प्रभावकारी कार्यान्वयन बिना देशले सही दिशा लिन नसक्ने बताउनुभयो । उहाँले मधेस, मुस्लिम, दलित, पिछडावर्ग तथा सीमान्तकृत समुदायका हकअधिकार सुनिश्चित गर्न पार्टी निरन्तर संघर्षरत रहेको उल्लेख गर्नुभयो।

“संघीयता कार्यान्वयनमा आए पनि राज्य संरचनामा विभेद अझै कायमै छ,” उहाँले भन्नुभयो, “अब संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्दै जनताको आवाज सशक्त रूपमा उठाउनु अपरिहार्य छ।” उहाँले पर्सा जिल्ला कमिटीले संगठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि बिमला अन्सारीले लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक दलहरू जनतासँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने आवश्यकता औंल्याउँदै महिलाको नेतृत्व र सहभागितालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा वक्ताहरूले पार्टीको नीति, सिद्धान्त र आगामी रणनीतिबारे चर्चा गर्दै संगठन विस्तार र जनमुखी राजनीतिलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close