झापाबाट विशेष महाधिवेशनको पक्षमा युवा नेता निरज अग्रवालको सशक्त आवाज

झापाबाट विशेष महाधिवेशनको पक्षमा युवा नेता निरज अग्रवालको सशक्त आवाज

नेपाली कांग्रेस झापाका युवा नेता तथा महाधिवेशन प्रतिनिधि निरज अग्रवालले पार्टीभित्र विशेष महाधिवेशनको मागलाई खुला रूपमा अघि बढाउँदै नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन्। आन्तरिक लोकतन्त्र सुदृढ गर्दै नेपाली कांग्रेसको ऐतिहासिक विरासत जोगाउने अभियानमा युवाहरूको सक्रियता उल्लेखनीय रूपमा बढ्दै गएको देखिन्छ।

पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको प्रस्ताव समयसापेक्ष र आवश्यक भएको उल्लेख गर्दै अग्रवालले यसको खुलेर समर्थन गरेका छन्। उनले गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्ना आदर्श नेता तथा प्रेरणाको स्रोतका रूपमा लिने गरेका छन्।

हालै अग्रवालले सामाजिक सञ्जालमार्फत पार्टीको वैचारिक दिशा संकेत गर्ने सन्देश सार्वजनिक गरेका छन्। उक्त सन्देशमा गगन थापाको दृढता, विश्वप्रकाश शर्माको वैचारिक स्पष्टता, पुराना नेताप्रति सम्मान तथा नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवश्यकता स्पष्ट रूपमा व्यक्त गरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार नेपाली कांग्रेस देशकै सबैभन्दा पुरानो, ठूलो र लोकतान्त्रिक दल भए पनि पछिल्लो समय पार्टीभित्र ऐतिहासिक विरासत र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अनुभूति कार्यकर्तामाझ बढ्दै गएको छ। यही पृष्ठभूमिमा युवाहरूले विशेष महाधिवेशनमार्फत पार्टीलाई नयाँ ऊर्जा, स्पष्ट दिशा र जनमुखी चरित्र दिनुपर्ने आवाज बुलन्द गरिरहेका छन्।

यसै सन्दर्भमा झापाका महाधिवेशन प्रतिनिधि निरज अग्रवाल भन्छन्, “विशेष महाधिवेशन कुनै व्यक्ति विशेषको पक्ष वा विपक्षका लागि होइन, पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने महत्वपूर्ण माध्यम हो।” उनका अनुसार युवाहरू बी.पी. कोइरालाको विचार, आदर्श र सपनालाई आत्मसात गर्दै अग्रज नेताहरूको मार्गदर्शन र आशिषका साथ नेपाली कांग्रेसलाई पुनः जनताको पार्टी बनाउने लक्ष्यका साथ अघि बढिरहेका छन्।

झापाबाट सुरु भएको यो अभियान अब देशव्यापी बहसको रूपमा विकसित हुँदै जाने संकेत देखिएको छ। विशेष महाधिवेशनको मागसँगै नेपाली कांग्रेसभित्र नयाँ सोच, नयाँ नेतृत्व र नयाँ संकल्पको अपेक्षा झनै बलियो बन्दै गएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close