३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस वीरगञ्जमा विविध कार्यक्रमसहित मनाइयो

३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस वीरगञ्जमा विविध कार्यक्रमसहित मनाइयो

३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आज वीरगञ्जमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले संयुक्त रूपमा विविध गतिविधि सञ्चालन गर्दै दिवस मनाए। प्रभातफेरी, शुभकामना आदान–प्रदानदेखि लेकर कोणसभा सम्मका कार्यक्रमहरू आयोजना गरिएको थियो।

गैरसरकारी संस्था महासंघ पर्सा र विभिन्न क्लबहरूको समन्वयमा घण्टाघरबाट सुरु भएको प्रभातफेरी माइस्थान पुगेर कोणसभामा परिणत भयो। कोणसभामा बोल्दै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न राज्यका सबै निकाय जिम्मेवारीका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

उनका अनुसार सेवा, सुविधा र अवसरको पहुँचलाई स्थानीय तहमै प्रभावकारी बनाउँदै समावेशी समाज निर्माणका लागि सबै पक्षहरूको सहकार्य अनिवार्य छ। ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने मूल नारासहितको कार्यक्रममा कन्या स्कुल र माउण्ट मकालुका विद्यार्थीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

सहभागीहरूले ‘अपाङ्गतामाथिको भेदभाव अन्त्य गरौँ’, ‘समावेशी र समतामूलक समाज हाम्रो अभियान’, ‘अधिकार सुनिश्चितता हाम्रो ऐक्यबद्धता’ लगायतका नारा घोषणासहित सहभागिता जनाएका थिए।

कार्यक्रममा प्रजिअ दहाल, प्रहरी उपरीक्षक सुदिपराज पाठक, अनुसन्धान उपनिर्देशक सन्तोष ढुङ्गेल, सामाजिक अभियन्ता प्रकाश थारु, डिएसपी राजु कार्की, गैरसरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, कन्या स्कुलकी प्रधानाध्यापक अनिता साह, कञ्चनजंघा स्कुलका प्रबन्ध निर्देशक मार्टिन मोक्तान, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, लाइफ नेपालकी कञ्चन कोइराला लगायतको उपस्थिति रहेको जानकारी समृद्ध नेपालका लागि युवा सशक्तीकरणका अध्यक्ष महेश साह कानुले दिए।

संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि हरेक डिसेम्बर ३ मा विश्वभर अपाङ्गता दिवस मनाइँदै आएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close