
पर्सा जिल्ला निर्वाचन क्षेत्र नं.–२ बाट प्रतिनिधि सभा सदस्य पदका लागि रन्जु साहले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। भ्रष्टाचारविरुद्ध कठोर संघर्ष गर्ने र पर्सा क्षेत्रलाई विकासको मोडेल बनाउने स्पष्ट संकल्पसहित उनले चुनावी मैदानमा उत्रिएको बताएकी छन्।
उम्मेदवारी घोषणा गर्दै साहले विगतका नेताहरूको लुट, भ्रष्टाचार र स्वार्थी राजनीतिका कारण पर्सा जिल्लाको मान, सम्मान र ऐतिहासिक पहिचान कमजोर बन्दै गएको उल्लेख गरिन्। यही अवस्थाको अन्त्य गर्दै सुशासन कायम गर्न, भ्रष्टाचारमा संलग्नलाई दण्डित गर्न र क्षेत्र नं.–२ लाई विकासको नमुना बनाउने लक्ष्यका साथ आफू उम्मेदवार बनेको उनको भनाइ छ।
उनले विशेष गरी जेन–जी पुस्ताको सपना साकार पार्न र युवामैत्री राजनीतिक अभियानलाई सार्थक दिशामा लैजान आफ्नो उम्मेदवारी महत्वपूर्ण हुने बताइन्। किसानहरू अपमानित जीवन बाँच्न बाध्य भएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले किसानलाई सम्मान, सामाजिक सुरक्षा तथा पेन्सनको व्यवस्था गरिने प्रतिबद्धता जनाइन्।
युवाहरूका सन्दर्भमा बोल्दै साहले गलत राजनीतिक अभ्यासका कारण नेपाली युवाहरू विदेशिन बाध्य भएको र धेरैले जोखिमपूर्ण जीवन गुमाउनुपरेको बताइन्। अब स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई सम्मानजनक जीवनको अवसर उपलब्ध गराइने उनको दाबी छ।
उनले देशमा बढ्दै गएको बैंकिङ लुट, वित्तीय ठगी र आर्थिक शोषणविरुद्ध कडा कदम चालिने बताउँदै पीडितलाई न्याय र दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरिन्।
पर्सा जिल्लाका गरिब दलित समुदाय अझै पनि आवासविहीन अवस्थामा रहेको उल्लेख गर्दै साहले सबै आवासविहीनलाई पक्की घर उपलब्ध गराइने घोषणा गरिन्। साथै महिला सशक्तिकरणलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा पर्सा जिल्लालाई राष्ट्रिय स्तरमै उदाहरणीय जिल्ला बनाउने लक्ष्य रहेको बताइन्।
उनले लुट, भ्रष्टाचार र कर आतंकका कारण देशको अर्थतन्त्र कमजोर बन्दै गएको भन्दै भन्सारको नाममा भइरहेको लुट अन्त्य गरिने र भ्रष्टाचारीलाई कडाभन्दा कडा कारबाही गरिने स्पष्ट पारिन्।
“गरिबका छोरा–छोरी विदेशमा ज्यान गुमाइरहेका छन् भने नेताका छोरा–छोरी विदेशमा ऐस गरिरहेका छन्, यो अन्यायपूर्ण अवस्थाको अन्त्य गर्नु मेरो प्रमुख लक्ष्य हो,” साहले भनिन्।
अन्त्यमा उनले दलाल प्रवृत्तिको राजनीतिबाट देशलाई मुक्त गर्दै आम जनताको शासन स्थापना गर्न वर्तमान प्रणालीमा सुधार आवश्यक रहेको बताइन्। जनताको हक, अधिकार र स्वाभिमानको संरक्षणका लागि आफू प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बनेको उनको भनाइ छ।



