
राहुल गुप्ता
कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विकाससँगै भारत विश्वव्यापी एआई क्रान्तिको अग्रपंक्तिमा उभिएको छ। एआई अब अनुसन्धान प्रयोगशाला वा ठूला प्रविधि कम्पनीमा मात्र सीमित नरही आम नागरिकको दैनिकीसँग प्रत्यक्ष रूपमा जोडिन थालेको छ। डिजिटल शासन, स्वास्थ्य, कृषि, शिक्षा, उद्योग र सार्वजनिक सेवामा एआईको प्रयोगले भारतको सामाजिक तथा आर्थिक संरचनामा महत्वपूर्ण रूपान्तरण ल्याइरहेको छ।
भारत सरकारले अघि सारेको ‘इन्डिया एआई मिशन’ यस परिवर्तनको प्रमुख आधार बनेको छ। यस मिशनअन्तर्गत आगामी पाँच वर्षमा १०,३०० करोड रुपैयाँभन्दा बढी लगानी गर्दै देशभर ३८ हजारभन्दा बढी ग्राफिक्स प्रोसेसिङ युनिट (GPU) तैनाथ गर्ने योजना अघि बढाइएको छ। यसले स्टार्टअप, अनुसन्धान संस्था, शैक्षिक निकाय तथा सरकारी कार्यालयलाई किफायती दरमा उच्चस्तरीय कम्प्युटिङ क्षमताको पहुँच उपलब्ध गराएको छ। हाल देशभर १,८०० भन्दा बढी कम्प्युटिङ क्षमतायुक्त केन्द्र सञ्चालनमा छन्, जसमध्ये ५०० भन्दा बढी एआईमा केन्द्रित छन्।
स्वास्थ्य क्षेत्रमा एआईले रोगको प्रारम्भिक पहिचान, टेलिमेडिसिन, उपचार सिफारिस तथा दूरदराजका क्षेत्रसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुर्याइरहेको छ। कृषिमा मौसम पूर्वानुमान, कीट तथा रोग निगरानी, बाली व्यवस्थापन र उत्पादन वृद्धि गर्न एआई प्रयोग हुँदै आएको छ। यसले किसानलाई सही समयमा सही निर्णय लिन मद्दत पुर्याउँदै आएको छ। शिक्षा र सीप विकासमा एआईमार्फत व्यक्तिगत सिकाइ, बहुभाषिक सामग्री, डिजिटल कक्षाकोठा र समावेशी शैक्षिक पहुँच विस्तार भइरहेको छ।
सरकारी तथ्यांकअनुसार हाल भारतको प्रविधि तथा एआई इकोसिस्टममा करिब ६० लाख मानिस कार्यरत छन्। सन् २०२५ भित्र भारतको प्रविधि क्षेत्रको कुल राजस्व २८० अर्ब अमेरिकी डलर नाघ्ने अनुमान गरिएको छ। दीर्घकालीन रूपमा हेर्दा, सन् २०३५ सम्म एआईले भारतको अर्थतन्त्रमा करिब १.७ ट्रिलियन अमेरिकी डलर योगदान गर्न सक्ने अपेक्षा गरिएको छ।
भारतमा स्टार्टअप इकोसिस्टम पनि तीव्र रूपमा विस्तार हुँदै गएको छ। हाल देशभर करिब १.८ लाख स्टार्टअप सक्रिय छन्। गत वर्ष स्थापना भएका नयाँ स्टार्टअपमध्ये करिब ८९ प्रतिशतले आफ्ना उत्पादन वा सेवामा एआईको प्रयोग गरेका छन्। नासकमको एआई एडोप्सन इन्डेक्सअनुसार भारतले ४ मध्ये २.४५ अंक प्राप्त गरेको छ, जसअनुसार करिब ८७ प्रतिशत उद्यमहरूले सक्रिय रूपमा एआई समाधान अपनाइरहेका छन्। उद्योग, अटोमोबाइल, खुद्रा, बैंकिङ, वित्तीय सेवा, बीमा र स्वास्थ्य सेवा एआई अपनाउने प्रमुख क्षेत्र बनेका छन्। हालै गरिएको बीसीजी सर्वेक्षणअनुसार करिब २६ प्रतिशत भारतीय कम्पनीहरूले ठूलो स्तरमा एआई रूपान्तरण हासिल गरिसकेका छन्।
अन्तर्राष्ट्रिय स्तरमा पनि भारतको एआई क्षमताले उल्लेखनीय मान्यता पाएको छ। स्ट्यानफोर्ड विश्वविद्यालयको २०२५ ग्लोबल एआई भाइब्रन्सी टूल प्रतिवेदनअनुसार भारत एआई प्रतिस्पर्धात्मकतामा विश्वको तेस्रो स्थानमा पुगेको छ। यो उपलब्धिले भारतको एआई प्रतिभा, अनुसन्धान क्षमता, स्टार्टअप इकोसिस्टम, लगानी, पूर्वाधार र नीति–शासनको मजबुत अवस्थालाई उजागर गर्छ।
कृत्रिम बुद्धिमत्ता भनेको यस्तो प्रविधि हो जसले मेसिनलाई मानव बुद्धिमत्ता आवश्यक पर्ने कामहरू गर्न सक्षम बनाउँछ। एआई प्रणालीले अनुभवबाट सिक्ने, नयाँ परिस्थितिमा अनुकूलन गर्ने, जटिल समस्या समाधान गर्ने, निर्णय लिने र संवाद गर्न सक्ने क्षमता राख्छ। ठूलो डाटा सेट, एल्गोरिदम र भाषा मोडेलको प्रयोगमार्फत एआईले जानकारी विश्लेषण, ढाँचा पहिचान र प्रतिक्रिया उत्पादन गर्दछ।
नीति आयोगको प्रतिवेदनअनुसार एआईले भारतका करिब ४९ करोड अनौपचारिक श्रमिकलाई स्वास्थ्य सेवा, शिक्षा, सीप विकास र वित्तीय समावेशीकरणमा पहुँच पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ। भारत सरकारले सुरक्षित, जिम्मेवार र नागरिक–केन्द्रित एआई प्रयोगलाई प्राथमिकतामा राख्दै २०४७ सम्म विकसित राष्ट्र निर्माण गर्ने लक्ष्यमा एआईलाई विकासको मुख्य इञ्जिनका रूपमा अघि बढाएको छ।
समावेशी, खुला र जिम्मेवार प्रविधिमा केन्द्रित भारतको एआई दृष्टिकोणले प्रविधिमा मात्र होइन, समग्र सामाजिक र आर्थिक रूपान्तरणमा पनि देशलाई नयाँ उचाइतर्फ डोर्याउने अपेक्षा गरिएको छ।




