
पाल्पाको तिनाउ गाउँपालिका वडा–३ स्थित तिलोत्तमा माध्यमिक विद्यालयमा पढ्ने १६ वर्षीया छात्राले विद्यालयको होस्टेलमै छोरी जन्माएकी छन्।
बिहीबार बच्चा जन्माएकी छात्रा तिनाउ गाउँपालिका वडा–५ निवासी हुन्। विद्यालयका प्रधानाध्यापक झविन्द्र ज्ञवालीले बताउनुभयो कि घटना पछि छात्रा र नाबालिकाको जिम्मा परिवारलाई लगाइएको छ।
‘ती छात्रा हाम्रो विद्यालयमा कक्षा ११ मा पढ्न आएकी थिइन्,’ प्रअ ज्ञवालीले भने, ‘कक्षा १० मा अर्को विद्यालयमा पढ्दा उनी र उनका प्रेमीबीच सम्बन्ध रहेको रहेछ, पछि घटना थाहा भयो। १६ वर्षीया छात्राले केही महिनाअघि राष्ट्रपति रनिङ शिल्डमा भलिबल पनि खेलेकी थिइन्। यस्तो घटना होला भन्ने हामीले सोचेकै थियौं।’
बच्चा जन्माएकी छात्रा र उनका प्रेमी एउटै गाउँका रहेको बुझिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर थापाले केटा र केटीबीच मेलमिलाप भएको जानकारी दिनुभयो। ‘उनीहरू माया प्रेममा रहेछन्, बच्चा जन्मिएपछि मात्रै घटना थाहा भयो,’ अध्यक्ष थापाले भन्नुभयो, ‘अविवाहित छात्राले बच्चा जन्माएपछि परिवारलाई तुरुन्त खबर दिई जिम्मा लगाइएको हो।’
छात्रा शिक्षा संकाय विषय लिएर कक्षा ११ मा पढ्दै आएकी थिइन्। तिनाउ गाउँपालिका वडा–५ का वडा अध्यक्ष इन्द्रकुमारी चिदीले छात्रा मोटीमोटी भएकाले शिक्षक र साथीहरूले पनि जानकारी पाएका थिएनन् भन्नुभयो।
विद्यालयका अनुसार आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको बताइएको छ।




