रक्सौलमा आधिकारिक मुद्रा विनिमय काउन्टर खोल्ने माग तीव्र

रक्सौलमा आधिकारिक मुद्रा विनिमय काउन्टर खोल्ने माग तीव्र

रक्सौल  भारत–नेपाल सीमाको प्रमुख प्रवेशद्वार रक्सौलमा आधिकारिक मुद्रा विनिमय काउन्टर स्थापना गर्न माग तीव्र बनेको छ। सीमावर्ती क्षेत्र भएकाले यहाँ दैनिक रूपमा दुवै देशका नागरिकहरूको ठूलो आवतजावत हुने गरेको छ, जसले मुद्रा विनिमयलाई अत्यावश्यक सेवा बनाएको छ।

हाल रक्सौल बजारमा नेपाली रुपैयाँसँगै भारतीय रुपैयाँ पनि चलनचल्तीमा भए पनि पछिल्लो समय अवैध रूपमा सञ्चालन भइरहेका मुद्रा विनिमय काउन्टरहरूले समस्या निम्त्याएका छन्। यस्ता काउन्टरहरूले कृत्रिम रूपमा भारतीय मुद्राको अभाव देखाउँदै नेपाली रुपैयाँ साट्दा अत्यधिक कम दर दिने र सर्वसाधारणलाई ठगी गर्ने गरेको गुनासो बढ्दै गएको छ।

यस समस्यालाई समाधान गर्न रक्सौलका विभिन्न व्यापारिक तथा सामाजिक संस्थाहरू भारत विकास परिषद् शाखा, रक्सौल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज, लायन्स क्लब अफ रक्सौल, टेक्सटाइल चेम्बर अफ कमर्स तथा इन्डो–नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा भारत सरकारसँग आधिकारिक मुद्रा विनिमय काउन्टर तत्काल स्थापना गर्न माग गरेका छन्।

संस्थाहरूका अनुसार (RBI) को निर्देशनअनुसार आधिकारिक काउन्टर स्थापना भएमा विनिमय दरमा पारदर्शिता आउने, अवैध कारोबार नियन्त्रण हुने र सर्वसाधारण ठगीबाट जोगिने विश्वास गरिएको छ।

व्यवसायीहरूका अनुसार यस्तो काउन्टरले सीमा क्षेत्रमा हुने व्यापारलाई सहज बनाउनुका साथै भारत–नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। उनीहरूले छिटोभन्दा छिटो सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close