
वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा फर्जी लाइसेन्स नियन्त्रणका लागि केही समयअघि कडाइका साथ चलाइएको अभियान अहिले फेरि कमजोर बनेको सेवाग्राही तथा स्थानीय स्रोतहरूले आरोप लगाएका छन्। उनीहरूका अनुसार, पहिले रोकिएको भनिएको ‘सेटिङ सिस्टम’ पुनः भित्री रूपमा सक्रिय भएको छ।
स्थानीय स्रोतहरूको दाबीअनुसार, कार्यालयमा ट्रायल र लिखित परीक्षा नाममात्रको औपचारिकता बनेको छ। सीमित संख्यामा पटक–पटक परीक्षा गराई निश्चित व्यक्तिहरूलाई पास गराउने अभ्यास भइरहेको आरोप लगाइएको छ। एक दिन लिखित परीक्षा र अर्को दिन ट्रायल गराउने शैली अपनाएर बिचौलियामार्फत काम अघि बढाइने गरेको समेत दाबी गरिएको छ।
त्यस्तै, एक बिचौलियामार्फत कार्यालयका केही कर्मचारीसँग मिलेमतो गरी चार वटा मोटरसाइकलको लाइसेन्स बनाउन ट्रायल प्रमुख रामसुन्दर महतो नजिकका व्यक्तिहरूमार्फत प्रक्रिया अघि बढाइएको आरोपसमेत सेवाग्राहीहरूले लगाएका छन्।
यसअघि सोही कार्यालयमा ट्रायल र लिखित परीक्षा सञ्चालनकै क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेपछि अनियमित आर्थिक कारोबार तत्काल रोकिएको घटना स्मरण गर्दै सेवाग्राहीहरूले अहिले भने अख्तियारको उपस्थिति नहुँदा पुनः अनियमितता मौलाएको दाबी गरेका छन्।
सेवाग्राहीहरूले कार्यालय प्रमुख कुशेश्वर साहमाथि पनि गम्भीर आरोप लगाएका छन्। उनीहरूका अनुसार कार्यालयभित्र बिचौलियाको प्रयोग गरी फर्म भर्ने, लिखित परीक्षा पास गराउने तथा ट्रायलमा असफल भएकाहरूको भिडियो एडिट गरेर पास देखाउनेजस्ता अनियमित गतिविधि हुने गरेको दाबी गरिएको छ।
स्थानीयवासीहरूले ट्रायल परीक्षा प्रणालीलाई पूर्ण रूपमा लाइभ स्ट्रिमिङ वा कडाइका साथ डिजिटल निगरानीमा लैजानुपर्ने माग गरेका छन्, ताकि प्रक्रिया पारदर्शी, निष्पक्ष र विश्वसनीय बन्न सकोस्।



