
पर्साको बहुदरमाई नगरपालिकामा सडक मर्मत तथा कालोपत्रे ठेक्का प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तुफासहित तीन जनाले विशेष अदालतबाट सफाई पाएका छन् ।
विशेष अदालतका इजलास नं. १ का अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र सदस्य न्यायाधीश विदुर कोइरालाको संयुक्त इजलासले उपसचिव महमद शेरे मुस्तुफा, बहुदरमाई नगरपालिकाका तत्कालीन सहलेखापाल उपेन्द्र कुमार साह तथा जनप्रतिबिम्ब दैनिकका प्रकाशक/सम्पादक संजय कुमार साहलाई आरोपबाट सफाई दिएको हो ।
बहुदरमाई नगरपालिका–बहुअरी पिडरी क्षेत्रमा आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अन्तर्गत बैरिया प्रवेशद्वारदेखि नगरदाहाँसम्म सडक मर्मत तथा कालोपत्रे गर्ने ठेक्का प्रक्रियामा अनियमितता भएको आरोप लागेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्का प्रक्रियामा मिलेमतो गरी कमिशनको आधारमा आफू निकट व्यक्तिलाई बोलपत्रमार्फत ठेक्का दिलाइएको तथा बजेट दुरुपयोग हुने गरी योजना सञ्चालन गरिएको दाबी गर्दै २०८२ पुस ९ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।
तर, आरोपपत्र दायर भएको करिब पाँच महिनापछि विशेष अदालतले आरोपअनुसारको कसुर प्रमाणित हुन नसकेको ठहर गर्दै तीनै जनालाई सफाई दिएको हो ।



