मधेस ट्राभल मार्ट–२०२६ सफलतापूर्वक सम्पन्न

मधेसलाई भारतीय पर्यटन बजारसँग जोड्ने महत्त्वपूर्ण पहल

रक्सौल/वीरगञ्ज । नेपाल पर्यटन बोर्ड र जितपुरसिमरा उपमहानगरपालिकाको संयुक्त आयोजना, नाट्टा मधेस प्रदेशको समन्वय तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाको सहभागितामा आयोजित चारदिने “मधेस ट्राभल मार्ट–२०२६” जनकपुरधाममा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल र भारतका विभिन्न सहरबाट आएका २०० भन्दा बढी पर्यटन व्यवसायी, टुर अपरेटर, पत्रकार, कन्टेन्ट क्रिएटर तथा पर्यटन प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

मार्टको औपचारिक सुरुवात वीरगञ्जस्थित सरोवर पोर्टिको होटलमा भएको थियो, जहाँ बैठक, प्यानल छलफल तथा “मेयर्स नाइट” कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता नाट्टा मधेस प्रदेशका अध्यक्ष तथा संयोजक मोहन शर्मा लामिछानेले गर्नुभएको थियो भने जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले पशुपतिनाथ, मुक्तिनाथ, मनोकामना, जानकी मन्दिर तथा गढीमाई जस्ता धार्मिक एवं रमणीय गन्तव्यका कारण नेपाल–भारतबीच धार्मिक पर्यटनको अपार सम्भावना रहेको बताउनुभयो। उहाँले नेपाल र भारतबीचको “रोटी–बेटी” सम्बन्धलाई अझ सुदृढ बनाउँदै पर्यटनमार्फत दुई देशबीचको मित्रता र सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका क्रममा सहभागीहरूलाई मधेस प्रदेशका प्रमुख धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण गराइएको थियो। नेपाल र भारतका पर्यटन व्यवसायी, उद्योगपति, पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई सीमापार पर्यटन सहकार्यको प्रभावकारी मञ्चका रूपमा स्थापित गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख हिम्मत सिंह ऐर, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम, उपाध्यक्ष माधव राजपाल, नाट्टा कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराई, बिहार पर्यटन संघका टोली नेता साकेत राय, भारतीय पर्यटन व्यवसायी सचिन शर्मा लगायत दुवै देशका विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

अध्यक्षीय मन्तव्यका क्रममा मोहन शर्मा लामिछानेले भारतीय पर्यटकको आगमन वृद्धि गर्ने उद्देश्यले ट्राभल मार्ट आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार कार्यक्रमको मुख्य उद्देश्य पर्यटकलाई सहज, सुरक्षित र झन्झटमुक्त यात्रा अनुभव प्रदान गर्नुका साथै मधेसका धार्मिक तथा सांस्कृतिक गन्तव्यबारे व्यापक जानकारी गराउनु हो।

भ्रमणका क्रममा सहभागीहरूले गढीमाई मन्दिर, पर्सा राष्ट्रिय निकुञ्ज, सिद्धबाबा पदयात्रा मार्ग, तुलेश्वर महादेव मन्दिर तथा जानकी मन्दिरको अवलोकन गरेका थिए। जनकपुरमा आयोजित भव्य गंगा आरती तथा मिथिला सांस्कृतिक कार्यक्रमले विशेष आकर्षण थपेको थियो।

मधेस ट्राभल मार्ट–२०२६ को मुख्य उद्देश्य मधेस प्रदेशका आठवटै जिल्लाका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई भारतीय पर्यटन बजारसँग जोड्नु तथा भारतीय पर्यटकलाई मधेसको पर्यटन सम्भावनाबारे परिचित गराउनु रहेको आयोजकले जनाएको छ। रक्सौल, पटना, दरभंगा, सीतामढी, मुजफ्फरपुर, वाराणसी, अयोध्या र कोलकाता लगायत भारतका विभिन्न सहरबाट आएका प्रतिनिधिहरूले यस पहलको प्रशंसा गरेका थिए।

यसै क्रममा ठोरी गाउँपालिकाका लालबहादुर श्रेष्ठले भारतीय नम्बर प्लेट भएका सवारीसाधनप्रति पर्यटकमैत्री व्यवहार अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रमको समापन जनकपुरस्थित पौवा होटलमा सम्पन्न भएको थियो।

समापन अवसरमा भारत विकास परिषद् शाखा–रक्सौलका अध्यक्ष रजनीश प्रियदर्शी तथा लायन्स क्लब अफ रक्सौलका अध्यक्ष, मिडिया इन्चार्ज एवं भारत विकास परिषद् रक्सौलका सेवा संयोजक बिमल कुमार सराफले संयुक्त रूपमा मधेस ट्राभल मार्ट–२०२६ ले पर्यटन केवल यात्रा मात्र नभई संस्कृति, आस्था, सम्पदा र आर्थिक विकासलाई जोड्ने सशक्त माध्यम भएको सन्देश दिएको बताउनुभयो। उहाँहरूले यो पहल नेपाल–भारत पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा महत्त्वपूर्ण कदम साबित हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा मोतिहारी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका पूर्व अध्यक्ष अंगद सिंह, अरविन्द सराफ, राजीव विज्डम, अनुपम जयसवाल लगायत पत्रकार, उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close