
पटना। राष्ट्रिय चिकित्सक दिवसको अवसरमा भारतको राजधानी पटनास्थित राजेन्द्रनगरमा पद्मश्री डा. जितेन्द्र कुमार सिंहको निवासमा मानवअधिकार टुडे र सिम्सको संयुक्त आयोजनामा विचारगोष्ठी तथा ‘बिहार डाक्टर आइकन अवार्ड–२०२६’ समारोह सम्पन्न भएको छ।
समारोहको उद्घाटन क्यान्सर रोग विशेषज्ञ पद्मश्री डा. जितेन्द्र कुमार सिंह, पद्मश्री अशोक विश्वास, गणितविद् प्रा. के.सी. सिंहा तथा मानवअधिकार टुडेका सम्पादक डा. शशि भूषण कुमारले संयुक्त रूपमा गरेका थिए।
कार्यक्रमको पहिलो सत्रमा ‘चिकित्सा र मानवअधिकार’ विषयमा विचारगोष्ठी आयोजना गरिएको थियो। सो अवसरमा बोल्दै पद्मश्री डा. जितेन्द्र कुमार सिंहले चिकित्सक सधैं कर्तव्यनिष्ठ हुनुपर्ने बताउँदै समाजप्रतिको जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण भएकाले जुनसुकै परिस्थितिमा पनि त्यसलाई पूरा गर्नुपर्ने धारणा राखे।
मानवअधिकार टुडेका सम्पादक डा. शशि भूषण कुमारले पीडित मानवताको सेवा गर्नु नै चिकित्सकको पहिलो धर्म भएको उल्लेख गर्दै मानवअधिकारका मूल्य र मान्यतालाई आत्मसात् गर्दै सेवामा समर्पित हुनुपर्ने बताए।
पद्मश्री अशोक विश्वासले चिकित्सकलाई ‘धरतीका भगवान’को संज्ञा दिँदै मानिसका शारीरिक तथा मानसिक पीडा हटाउन चिकित्सकको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए।
प्रा. के.सी. सिंहाले कुनै पनि राष्ट्रको विकासमा चिकित्सकहरूको योगदान उल्लेखनीय हुने भन्दै असहाय र विपन्न नागरिकको सेवामा अग्रसर हुन चिकित्सकहरूलाई आग्रह गरे।
केन्ट होमियो कलेज, वैशालीका निर्देशक डा. जितेन्द्र कुमारले चिकित्सकमा नैतिक मूल्य र आचारसंहिताको ज्ञान अपरिहार्य रहेको बताए। उनले नैतिक चिकित्सा अभ्यासबाट समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे।
उपसम्पादक तथा मानवअधिकारकर्मी अमित कुमार विश्वासले चिकित्सकहरूले हरेक परिस्थितिमा मानवअधिकारको संरक्षण गर्नुपर्ने बताए। उनले स्वास्थ्य सेवा सुधारका लागि सरकारले निरन्तर नयाँ पहल गरिरहेको पनि उल्लेख गरे।
डा. मधुसूदन कुमारले सेवा नै चिकित्सकको पहिलो धर्म भएको र त्यसपछि मात्र आर्थिक लाभको अपेक्षा हुनुपर्ने बताए। उनका अनुसार मानवताको सेवा गर्नु नै सच्चा चिकित्सा हो।
डा. रितेश पाण्डेयले सरकारले सञ्चालन गरेको आयुष्मान कार्ड तथा मुख्यमन्त्री चिकित्सा सहायता योजनाबाट धेरै विपन्न बिरामीले गुणस्तरीय उपचार पाएको र ती योजना उनीहरूका लागि वरदान सावित भएको बताए।
समारोहमा समाज र चिकित्सा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका १३ जना चिकित्सकलाई ‘बिहार डाक्टर आइकन अवार्ड–२०२६’ प्रदान गरी सम्मान गरिएको थियो।
सम्मानित चिकित्सकहरूमा डा. मधुसूदन सिंह, डा. मोहनीश सिन्हा, डा. रितेश पाण्डेय, डा. राजा अनुराग गौतम, डा. रामाकान्त ठाकुर, डा. लभ्ली कुमारी, डा. अपूर्वा, डा. प्रीति रञ्जन, डा. आकाश गांगुली, डा. बी.के. शरण, डा. अमित कुमार, डा. कुमार अभिषेक तथा डा. प्रशान्त रावत रहेका छन्।




