नारायणी अस्पताल मृत्यु प्रकरण: ५ स्वास्थ्यकर्मी एक साताका लागि निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन

नारायणी अस्पताल मृत्यु प्रकरण: ५ स्वास्थ्यकर्मी एक साताका लागि निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन

वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आकस्मिक कक्षमा कार्यरत चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीलाई एक साताका लागि जिम्मेवारीबाट हटाइएको छ।

शनिबार साँझ जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार गुप्तासहित अस्पताल प्रशासन, पीडित पक्ष तथा सुरक्षा निकायबीच बसेको बैठकले घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन गर्दै प्रतिवेदन नआएसम्म आकस्मिक कक्षमा कार्यरत पाँच स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।

शनिबार बिहान सिकिस्त अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएका वीरगन्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारकै क्रममा मृत्यु भएको थियो। घटनापछि आक्रोशित परिवारजन र स्थानीयवासीले अस्पतालमा प्रदर्शन गर्दै आकस्मिक कक्षमा तोडफोड गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको थियो।

बैठकले गठन गरेको ६ सदस्यीय छानबिन समितिमा अस्पतालका डा. नीरजकुमार सिंह, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार गुप्ता, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदी, वीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतकका तर्फबाट विकास पटेल तथा अस्पताल प्रशासनका तर्फबाट सुनीलकुमार रौनियार रहेका छन्।

समितिलाई घटनाको विस्तृत छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

छानबिन प्रतिवेदन नआएसम्म आकस्मिक कक्षमा कार्यरत डा. प्रमोद राम, डा. रामकिशोर सिंह, स्वास्थ्यकर्मी प्रह्लाद प्रसाद, नरेश कुमार चौधरी र आस्था यादवलाई एक साताका लागि जिम्मेवारीबाट हटाउने निर्णय गरिएको बैठकले जनाएको छ।

यसैबीच, नेपाल चिकित्सक संघले नारायणी अस्पतालको आकस्मिक कक्षमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघका केन्द्रीय अध्यक्ष डा. बद्री रिजालले आइतबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्। साथै, उपचार सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल फिर्ता लिन पनि माग गरेका छन्।

संघले अस्पतालमा तोडफोड गर्ने तथा चिकित्सकमाथि कुटपिट गर्ने व्यक्तिमाथि कारबाही नगरिए र निलम्बन फिर्ता नलिए देशव्यापी आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close