वीरगञ्ज महानगरपालिका–२६ मा नवनिर्मित वडा कार्यालय तथा स्वास्थ्य चौकी भवन उद्घाटन

वीरगञ्ज महानगरपालिका–२६ मा नवनिर्मित वडा कार्यालय तथा स्वास्थ्य चौकी भवन उद्घाटन

वीरगञ्ज महानगरपालिका वडा नं. २६ मा नवनिर्मित वडा कार्यालय तथा स्वास्थ्य चौकी भवनको भव्य समारोहबीच उद्घाटन गरिएको छ। वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले प्रमुख अतिथिका रूपमा दुवै भवनको संयुक्त रूपमा उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख आलमले वडा नं. २६ का नागरिकको सेवा र विकासका लागि आफू सदैव प्रतिबद्ध रहने बताउनुभयो। उहाँले भन्नुभयो, “मसँग हुने सम्पूर्ण सहयोग यस वडाका बासिन्दाका लागि समर्पित रहनेछ। आगामी दिनमा पनि यस वडाको विकास निर्माणका हरेक योजनामा म अग्रसर रहनेछु।”

कार्यक्रममा वडा नं. २६ का वडा अध्यक्ष शम्भु मिश्राले करिब १ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको वडा कार्यालय तथा स्वास्थ्य चौकी भवन कार्यवाहक नगर प्रमुख आलमको विशेष सहयोगका कारण सम्भव भएको बताउनुभयो। उहाँले भन्नुभयो, “उहाँको निरन्तर सहयोग र पहल बिना यो भवन निर्माण सम्भव हुने थिएन। यस सफलताको सम्पूर्ण श्रेय कार्यवाहक नगर प्रमुख इम्तियाज आलमलाई दिन चाहन्छु र उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु।”

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले वडाको आफ्नै सुविधासम्पन्न कार्यालय भवन निर्माण हुनु सकारात्मक उपलब्धि भएको बताउनुभयो। उहाँले महानगरपालिकाअन्तर्गतका सबै ३२ वटै वडामा आफ्नै कार्यालय भवन हुनुपर्ने आवश्यकता औँल्याउँदै त्यसतर्फ महानगरपालिकाले प्राथमिकता दिइरहेको जानकारी दिनुभयो।

उद्घाटन समारोहमा विभिन्न वडाका वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, नागरिक समाजका अगुवा, वडा सदस्यहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीयवासीहरूले आफ्नै वडा कार्यालय र स्वास्थ्य चौकी भवन सञ्चालनमा आएपछि सेवा प्रवाह थप सहज, प्रभावकारी र गुणस्तरीय हुने विश्वास व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close