
वीरगञ्ज । भारतको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा रक्सौल–वीरगञ्ज मितेरीपुलमा अटोरिक्शामा राखिएको भारतीय झण्डा सशस्त्र प्रहरीले हटाउने क्रममा विवाद उत्पन्न भएको छ। शुक्रबार साँझ अटोरिक्शाबाट झण्डा हटाउने क्रममा सशस्त्र प्रहरी र भारतीय नागरिक अमित उपाध्यायबीच विवाद भएको हो।
प्रत्यक्षदर्शीका अनुसार सशस्त्र प्रहरीका जवानले भारतीय सवारीसाधनमा राखिएको झण्डा हटाउन खोजेपछि पैदल वीरगञ्जतर्फ आउँदै गरेका भारतीय नागरिक अमित उपाध्यायले झण्डा नहटाउन आग्रह गरेका थिए। त्यस क्रममा केही सुरक्षाकर्मीले उनीमाथि अपशब्द प्रयोग गर्दै हातपात गरेको दृश्यसमेत कैद भएको बताइएको छ। अमितका अनुसार उनलाई सशस्त्र प्रहरीको भन्सार पोष्टमा लगेर अभद्र गालीगलौज गर्नुका साथै बल प्रयोग गरी कुटपिट गरिएको थियो।
घटनापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमितले आफूलाई सशस्त्र प्रहरीले कुटपिट गरेको बताएका छन्। उनको बायाँ हात तथा टाउकोमा चोट लागेको र नारायणी अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणको मेडिकल रिपोर्टमा समेत चोटको विवरण उल्लेख भएको उनले बताएका छन्।
घटनाको जानकारी पाएपछि पर्साका सञ्चारकर्मीहरू घटनास्थल तथा सशस्त्र प्रहरीको भन्सार पोष्टमा पुगेका थिए। सञ्चारकर्मीहरूले सीमा क्षेत्र तथा सशस्त्र प्रहरी पोष्टमा जडान गरिएका सीसीटीभी फुटेज हेरेर घटनामा दोषी को हो भन्ने विषय स्पष्ट पार्न आग्रह गरेका थिए। त्यसक्रममा सशस्त्र प्रहरी बल भन्सार पोष्टका प्रहरी नायब उपरीक्षक विकास अधिकारीले घटनाबारे छानबिन गर्ने र कुनै जवान दोषी देखिए विभागीय कारबाही गरिने बताएका छन्।
घटनाले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको व्यवहार, संयमता र मानवअधिकारप्रतिको संवेदनशीलतामाथि प्रश्न उठाएको छ। नेपाल–भारतबीच ऐतिहासिक, सामाजिक तथा पारिवारिक सम्बन्ध रहेको सीमावर्ती क्षेत्रमा सामान्य विवादलाई संवाद र संयमताबाट समाधान गर्न सकिने अवस्थामा कुटपिटसम्मको अवस्था सिर्जना हुनु गम्भीर विषय भएको स्थानीयको भनाइ छ।
यस्ता घटनाले सुरक्षा निकायप्रतिको जनविश्वासमा असर पार्नुका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा समेत नकारात्मक सन्देश जान सक्ने भएकाले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उठेको छ। पीडित भारतीय नागरिक अमितले घटनाबारे नेपाल प्रहरी, भारतीय दूतावास तथा अन्य सम्बन्धित निकायमा उजुरी गर्ने बताएका छन्। उनले हालसम्म मेडिकल रिपोर्ट, तस्बिर, भिडियो तथा घटनासम्बन्धी विवरणसहितका सामग्री इमेलमार्फत सम्बन्धित निकायमा पठाइसकेको बताएका छन्।
सशस्त्र प्रहरीले समेत घटनामा आफ्नो जवानको गल्ती देखिए विभागीय कारबाही गर्ने बताएपछि अब सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान तथा अन्य प्रमाणका आधारमा वास्तविकता सार्वजनिक हुने अपेक्षा गरिएको छ।



