
वीरगन्ज । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको आकस्मिक कार्यपालिका बैठकले भोटेकोसी बाढीपीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।
महानगरपालिकाका अनुसार सहयोग रकम विभिन्न आन्तरिक स्रोतबाट जुटाइनेछ। जसअनुसार महानगरअन्तर्गतका प्रत्येक वडा कार्यालयबाट १ लाख २५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइनेछ।
त्यसैगरी, महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको तलब तथा सेवा–सुविधाबापत प्राप्त हुने रकम सहयोग गर्ने निर्णय भएको छ। महानगरपालिकामा कार्यरत कर्मचारीहरूको तलबबाट पनि मुख्यसचिवस्तरीय निर्णयअनुसार तोकिएको रकम कट्टा गरी सहयोग उपलब्ध गराइनेछ।
बाढीका कारण ठूलो जनधनको क्षति व्यहोरेका भोटेकोसीका नागरिकलाई विपद्को कठिन घडीमा राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आकस्मिक बैठक बोलाएर सहयोगको निर्णय गरिएको कार्यवाहक नगर प्रमुख आलमले बताउनुभयो।
वीरगन्ज महानगरपालिकाले विपद्का बेला प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।



