
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ इनर्वा भन्सारस्थित दुई होटलमा प्रहरीले छापा मारेर ५ महिलासहित ८ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये २ जना भारतीय महिला र २ जना भारतीय पुरुष रहेका छन्।
वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा खटिएको टोलीले अभिषेक होटल र बेदामी होटलमा छापा मारेको हो। होटलमा अनैतिक गतिविधि हुने गरेको सूचनाका आधारमा छापा मारिएको प्रहरीले जनाएको छ।
स्रोतका अनुसार बेदामी होटलबाट भारतको बिहार, पूर्वी चम्पारण, चिउटाहा–९ की (परिवर्तन नाम राको देवी) र पूर्वी चम्पारणकै वडा नं. ६ की (परिवर्तन नाम जुजु यादव) लाई नियन्त्रणमा लिइएको छ। त्यस्तै, अभिषेक होटलबाट बिहारका अक्षय सिंह र मोतिहारी, पूर्वी चम्पारणका दिलीप कुमार साहलाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।
नियन्त्रणमा लिइएकामध्ये रक्सौलस्थित एक अस्पतालमा कार्यरत चिकित्सक तथा नर्ससमेत रहेको स्रोतको दाबी छ। यद्यपि उनीहरूको पेसागत परिचयबारे प्रहरीले आधिकारिक पुष्टि गरेको छैन।
प्रहरीले नियन्त्रणमा लिइएका सबै व्यक्तिमाथि आवश्यक सोधपुछ तथा अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक हुने प्रहरीले जनाएको छ।
एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर।



