‘तात्तिँदै वीरगञ्ज, सुक्दै मधेस’ नारासहित जलवायु सम्मेलनमा सहभागी हुँदै वीरगञ्ज महानगरको टोली

‘तात्तिँदै वीरगञ्ज, सुक्दै मधेस’ नारासहित जलवायु सम्मेलनमा सहभागी हुँदै वीरगञ्ज महानगरको टोली

वीरगञ्ज । मुस्ताङको घरपझोङ गाउँपालिकामा आयोजना हुन लागेको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन, २०८३’ मा सहभागी हुन वीरगञ्ज महानगरपालिकाको टोली आगामी भदौ ३० गते जोमसोम जाने भएको छ।

जलवायु परिवर्तनका कारण पछिल्लो समय तराई–मधेसमा बढ्दै गएको अत्यधिक तापक्रम र सुक्दै गएका खानेपानीका मुहानको गम्भीर समस्यालाई राष्ट्रिय मञ्चमा उठाउन महानगरले ‘तात्तिँदै वीरगञ्ज, सुक्दै मधेस’ भन्ने नारा तय गरेको छ।

सम्मेलनमा सहभागी हुन जान लागेका वीरगञ्ज महानगरपालिकाका प्रशासन प्रमुख कीर्ति सुवेदी र वातावरण शाखा प्रमुख राकेश साहलाई शुक्रबार वीरगञ्जमा आयोजित विशेष कार्यक्रमबीच बिदाइ गरिएको छ। उनीहरूलाई महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले शुभकामनासहित बिदाइ गरेका हुन्।

बिदाइ कार्यक्रममा कार्यवाहक मेयर आलमले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नरहेको भन्दै यसको प्रभाव तराई–मधेसमा समेत भयावह बन्दै गएको बताए।

“जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नरहेर तराई–मधेसमा अझ भयावह रूपमा देखिन थालेको छ। वीरगञ्जसहित सिङ्गो मधेसमा भूमिगत जलसतह घट्दा खानेपानीको चरम सङ्कट पैदा भएको छ,” उनले भने, “जोमसोममा हुने यो भेलामार्फत हामी मधेसले भोगिरहेको वातावरणीय सङ्कट र तराईका वास्तविक समस्यालाई दृढताका साथ प्रस्तुत गर्नेछौँ।”

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बोहराले सम्मेलनले देशका सबै स्थानीय तहलाई जलवायु अनुकूलनका रणनीति बनाउन एकीकृत मञ्च प्रदान गर्ने बताए।

“हिमालदेखि तराईसम्मका स्थानीय तहहरू एकै ठाउँमा उभिएर साझा रणनीति बनाउनु आजको आवश्यकता हो। हाम्रा प्रतिनिधिहरूले मधेसका तर्फबाट ठोस सुझाव र प्रतिवेदन सम्मेलनमा पेस गर्नुहुनेछ,” बोहराले भने।

नेपाल सरकार, प्रदेश सरकार तथा विभिन्न भगिनी स्थानीय तहहरूको सहयोगमा घरपझोङ गाउँपालिकाले भदौ ३० र ३१ गते जोमसोमस्थित कभर्ड हलमा सम्मेलन आयोजना गर्न लागेको हो।

सम्मेलनमा मुलुकभरका ७५३ वटै स्थानीय तहका प्रमुख तथा जलवायु विज्ञहरूको सहभागिता रहने जनाइएको छ। सम्मेलनमार्फत हिमालदेखि तराईसम्म जलवायु परिवर्तनका कारण देखिएका समस्या, चुनौती तथा स्थानीय तहले अपनाउनुपर्ने अनुकूलनका उपायबारे साझा छलफल हुने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close