
वीरगञ्ज । पूर्वाधार विकास कार्यालय वीरगञ्ज, पर्साका कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर (सिडिई) राजेशलाल कर्णसहित केही कर्मचारी निर्माण व्यवसायीहरूसँगै भारत भ्रमणमा गएको तस्बिर सार्वजनिक भएपछि सरकारी अधिकारी र ठेकेदारबीचको सम्बन्धलाई लिएर प्रश्न उठेको छ।
कार्यालयका इन्जिनियर रामबालक राय यादवले आफ्नो फेसबुकमा भारत भ्रमणका क्रममा खिचिएको सामूहिक तस्बिर सार्वजनिक गरेपछि घटना बाहिर आएको हो। तस्बिरमा कार्यालय प्रमुख कर्ण, इन्जिनियर यादव तथा निर्माण व्यवसायीहरू सँगै देखिन्छन्। शुक्रबार कर्णसहितको टोली भारत भ्रमणमा निस्किएको बताइएको छ।
सरकारी कर्मचारी र निर्माण व्यवसायी एउटै विदेश भ्रमणमा सहभागी भएको विषयलाई लिएर आलोचना हुन थालेको छ। भ्रमणको उद्देश्य, स्वीकृति तथा खर्चको स्रोतबारे स्पष्ट विवरण सार्वजनिक नभएकाले ठेकेदारकै खर्चमा भ्रमण भएको हो कि होइन भन्नेसमेत प्रश्न उठेको छ।
यस विषयमा सम्बन्धित मन्त्रालयले भ्रमणको स्वीकृति, खर्चको स्रोत र सरकारी आचारसंहिताको पालना भए–नभएको विषयमा तत्काल छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग उठ्न थालेको छ।
सार्वजनिक पदमा रहेका अधिकारी र निर्माण व्यवसायीबीचको सम्बन्धमा पारदर्शिता र निष्पक्षता कायम हुनुपर्ने भन्दै कर्णको भारत भ्रमणमाथि थप प्रश्न उठेको छ।




