
वीरगञ्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदका लागि भाजु राउत कुर्मीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
वीरगञ्ज महानगरपालिका–३० निवासी कुर्मीले आगामी पार्टी अधिवेशनलाई लक्षित गर्दै क्षेत्रीय सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले पार्टी संगठनलाई थप सक्रिय, सुदृढ, अनुशासित र जनमुखी बनाउँदै कार्यकर्ता तथा जनताबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यसहित नेतृत्वका लागि अघि बढेको बताएका छन्।
कुर्मीका अनुसार विभिन्न सामाजिक क्षेत्र तथा संस्थामा दुई दशकभन्दा बढी समयदेखि नेतृत्वदायी भूमिकामा रहेर काम गर्दा हासिल गरेको अनुभवलाई अब पार्टी संगठनको सुदृढीकरण र जनसेवामा प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएका हुन्।
उम्मेदवारी घोषणा गर्दै कुर्मीले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा संगठन निर्माण र जिम्मेवारी बहन गर्ने प्रतिबद्धताका रूपमा प्रस्तुत गरेका छन्। स्थानीय तहदेखि क्षेत्रीय तहसम्म पार्टी संगठनलाई थप गतिशील बनाउने, कार्यकर्ताको सम्मान, सहभागिता र क्षमता विकासलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ।
त्यसैगरी, पार्टी र जनताबीचको सम्बन्धलाई थप बलियो बनाउँदै नेपाली कांग्रेसलाई हरेक परिस्थितिमा जनताको सुख–दुःखसँग जोडिएको संगठनका रूपमा अघि बढाउन आफूले इमानदार प्रयास गर्ने कुर्मीले बताएका छन्।
सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका कुर्मीले संगठन निर्माण, कार्यकर्ताको सम्मान र जनसेवालाई आफ्नो नेतृत्वको मुख्य प्राथमिकताका रूपमा अघि सारेका छन्। उनले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट साथ, सुझाव र विश्वासको अपेक्षा समेत गरेका छन्।
कुर्मीको उम्मेदवारी घोषणासँगै नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदलाई लिएर आगामी अधिवेशनको राजनीतिक गतिविधि थप सक्रिय हुने देखिएको छ।




