देश–विदेशका पत्रकार लखीसरायमा सम्मानित, शान्ति र सद्भावको सन्देश

देश–विदेशका पत्रकार लखीसरायमा सम्मानित, शान्ति र सद्भावको सन्देश

पवन प्रसाद साह
लखीसराय (बिहार) हिन्दी पखवाडाको अवसरमा भारतको लखीसराय पुगेका देश–विदेशका पत्रकारहरूलाई जिल्ला प्रशासनले स्वागत तथा सम्मान गरेको छ।

अल इन्डिया जर्नलिस्ट युनियन (एआईजेयू) का राष्ट्रिय अध्यक्ष रञ्जित सम्राटको नेतृत्वमा बंगलादेश, नेपाल, भुटानलगायत विभिन्न देशका पत्रकार सम्मिलित प्रतिनिधिमण्डल लखीसराय पुगेको हो। प्रतिनिधिमण्डललाई लखीसरायका जिल्ला पदाधिकारी शैलेन्द्र कुमारले सोमबार आफ्नै कार्यालयमा पुष्पगुच्छा प्रदान गर्दै स्वागत तथा सम्मान गरेका थिए।

स्वागत कार्यक्रममा अन्तर्राष्ट्रिय पत्रकार संघका अध्यक्ष राजु लामा, बंगलादेशका पत्रकार मोहम्मद अब्दुल रहमान तथा मानवअधिकार पत्रकारिताका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा परिचित वरिष्ठ पत्रकार डा. शशिभूषण कुमारलगायत पत्रकारहरूको सहभागिता थियो।

लखीसराय भ्रमणका क्रममा पत्रकारहरूको प्रतिनिधिमण्डलले जिल्लाको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको इन्द्रधनेश्वर महादेव अशोकधाम मन्दिरको समेत अवलोकन गरेको थियो। मन्दिर परिसरमा रहेका प्राचीन मूर्ति तथा ऐतिहासिक अवशेषबारे पुरातत्त्वविद् अरुण कुमार र उनको टोलीले प्रतिनिधिमण्डललाई जानकारी गराएका थिए।

त्यसपछि प्रतिनिधिमण्डलले लाली पहाडीको समेत भ्रमण गरेको थियो। पुरातात्त्विक उत्खननका क्रममा लाली पहाडीमा फेला परेका महिला बौद्ध भिक्षुहरूको छात्रावासका अवशेषको प्रतिनिधिमण्डलले अवलोकन गरेको हो।

पुरातत्त्वविद् अरुण कुमारका अनुसार लाली पहाडीमा ठूलो संख्यामा महिला बौद्ध भिक्षुहरूको छात्रावासका अवशेष फेला परेका छन्। बिहारमा हालसम्म भएका पुरातात्त्विक अनुसन्धानका क्रममा फेला परेका छात्रावासका संरचनामध्ये लाली पहाडीको संरचना महत्त्वपूर्ण र ठूलामध्येको एक रहेको उनले बताए। भविष्यमा यस क्षेत्रलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो।

प्रतिनिधिमण्डलमा बंगलादेशको ढाकाबाट आएका पत्रकार एमके सिद्दीकी, सार्क जर्नलिस्ट फोरम नेपाल च्याप्टरका संयोजक रुद्र सुवेदी, सह–संयोजक मो. आरिफ अन्सारी, बिहार च्याप्टरका अध्यक्ष डा. शशिभूषण कुमार तथा मधेस च्याप्टरका संयोजक मो. सादाब मलिकलगायत सहभागी थिए।

त्यसैगरी सदस्यहरू रमेशचन्द्र कुमाल, अजमत अली, सुशीलकुमार खड्का, अभिलाष गुप्ता, पवन प्रसाद साह र अरुण कलवारलगायत विभिन्न देशका पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

यस अवसरमा उपविकास आयुक्त (डीडीसी) सुमित कुमारले देश–विदेशबाट आएका पत्रकार तथा लखीसरायका एआईजेयूका पत्रकार प्रतिनिधिहरूलाई अंगवस्त्र प्रदान गरी सम्मान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै डीडीसी सुमित कुमारले जमालपुरमा आयोजित अन्तर्राष्ट्रिय पत्रकार महासम्मेलनले विश्वशान्ति र लोकतन्त्रको संरक्षणमा सञ्चारमाध्यमको भूमिकाबारे महत्त्वपूर्ण सन्देश दिएको बताए।

विश्वका विभिन्न क्षेत्रमा द्वन्द्व, वैमनस्य र तनावको अवस्था देखिएका बेला पत्रकारहरूले अन्तर्राष्ट्रिय पत्रकार महासम्मेलनमार्फत विश्वशान्तिको सन्देश प्रवाह गर्नु सकारात्मक पहल भएको उनले उल्लेख गरे।

सञ्चारमाध्यमले सत्य, तथ्य र जिम्मेवार पत्रकारितामार्फत समाजमा शान्ति, सद्भाव, सहिष्णुता तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने डीडीसी सुमित कुमारले बताए।

कार्यक्रममा एआईजेयूका राष्ट्रिय प्रधान महासचिव सुनील कुमार, जिल्ला प्रधान महासचिव अमलेश कुमार पाण्डे, कोषाध्यक्ष जयप्रकाश, कार्यकारिणी सदस्य मनीष कुमार तथा हिमांशु कुमारलगायतको उपस्थिति थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close