१ अर्ब ३ करोडको हुण्डी कारोबारको आरोपमा धरानकी ज्योति शाही पक्राउ

१ अर्ब ३ करोडको हुण्डी कारोबारको आरोपमा धरानकी ज्योति शाही पक्राउ

काठमाडौं । अवैध हुण्डी कारोबारमार्फत १ अर्ब ३ करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको आरोपमा नेपाल प्रहरीले धरानकी ज्योति शाहीलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले धरान उपमहानगरपालिका–१३ की शाहीलाई अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो।

विभिन्न व्यक्तिले विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपाल भित्र्याई विभिन्न व्यक्तिका बैंक खातामार्फत कारोबार गर्ने गरेको सूचनाका आधारमा सीआईबीले शाहीमाथि अनुसन्धान अघि बढाएको जनाएको छ।

सीआईबीका अनुसार अनुसन्धानका क्रममा विदेशबाट प्राप्त रकमलाई स–साना भागमा विभाजन गरी कनेक्ट आईपीएसलगायत विद्युतीय तथा डिजिटल माध्यमबाट असम्बन्धित व्यक्तिका बैंक खातामा पठाउने गरेको खुलेको छ। यसरी रकम स्थानान्तरण गरी हुण्डीमार्फत कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

प्रहरीका अनुसार शाहीले घरेलु तथा साना उद्योग कार्यालय, इटहरी, सुनसरीमा २०६८ भदौ १६ गते ‘शाही मनि ट्रान्सफर’ नामक व्यवसाय दर्ता गरी सञ्चालन गरेकी थिइन्। सोही व्यवसायका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा खाताहरू सञ्चालन गरेको पाइएको सीआईबीले जनाएको छ।

अनुसन्धानका क्रममा कृषि विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामा रहेका खातामार्फत कुल १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रुपैयाँ बराबरको कारोबार भएको खुलेको प्रहरीले जनाएको छ।

हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसूरमा अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट मंगलबार पक्राउ अनुमति लिइएको थियो। त्यसपछि नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार धरानको खैरेनीबाट शाहीलाई पक्राउ गरेको हो।

पक्राउ परेकी शाहीमाथि अवैध हुण्डी कारोबारसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। प्रहरीले कारोबारमा अन्य व्यक्ति वा संस्थाको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close