नेपाल प्रहरीका साठी इन्स्पेक्टर डीएसपीमा बढुवा, दर्ज्यानी चिन्हले सुशोभित  

नेपाल प्रहरीका साठी इन्स्पेक्टर डीएसपीमा बढुवा, दर्ज्यानी चिन्हले सुशोभित

फोटो फिचर सहित हेर्नु होस्!

काठमाडौं, जेठ १४ । नेपाल सरकार, गृह मन्त्रालय सचिवस्तरको जेठ १३ गतेको निर्णयअनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी नायव उपरीक्षक(डीएसपी) पदमा पदोन्नति भएका ६० जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उनीहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात सांगठनिक जिम्मेवारी थपिएकोले प्राप्त जिम्मेवारी एवम् संगठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उच्च मनोबलका साथ उत्कृष्ट काम गर्न निर्देशन दिए ।

व्यक्ति भन्दा संगठनलाई बलियो बनाउनेतर्फ सबै प्रहरी कर्मचारीहरु अग्रसर हुनुपर्ने उल्लेख गर्दै राज्यले सुम्पेको दायित्व र भूमिका तथा नागरिक केन्द्रित सेवा प्रवाह गर्न निष्ठापूर्वक एवं उच्च मनोबलका साथ दायित्व बोध गर्नुपर्ने सम्बन्धमा प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी कर्मचारीलाई निर्देशन दिए । क्षणिक स्वार्थलाई त्याग्दै राष्ट्र र नागरिकको सेवामा समर्पित भएर पूर्ण नैतिकवान भई काम गर्दै संगठनको गरिमा अझै माथि उठाउन एकताबद्ध भई टिमवर्कमा लाग्नुपर्ने उनले उल्लेख गरे ।
प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नतिमा मूल्याङ्कनका सूचक र विधिबारे चर्चा गर्दै व्यवसायिक कार्यदक्षता, इमान्दारिता, सेवाभाव तथा कार्यसम्पादनको स्तरलाई आधार मानेर प्रहरी कार्मचारीहरुको मूल्याङ्कन हुने उल्लेख गरे । पदोन्नतिसँगै थपिएको जिम्मेवारी पूरा गर्न बद्लिदो परिस्थितिलाई मध्यनजर राखी व्यवसायिकता प्रदर्शन गर्दै आफ्नो काममा खरो उत्रनुपर्नेमा उनले जोड दिए ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को कारण सिर्जना भएको विषम परिस्थितिमा सक्रिय रुपमा अग्रपङ्तिमा खटिएका प्रहरी कर्मचारीहरुले आफ्नो व्यक्तिगत सुरक्षाको उपायहरु अबलम्बन गरी थप संवेदनशील र व्यवसायिक भई परिस्थिति अनुसार कार्यसम्पादन गर्नुपर्ने प्रहरी महानिरीक्षक ज्ञवालीले बताए ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक पृथ्वीनारायण ओलीले संगठनले राखेको अपेक्षा पूरा गरी संगठनको गरिमा माथि उठाउनका लागि सदैव तल्लीन रहने उल्लेख गरे । पदोन्नति पछि प्राप्त थप जिम्मेवारीलाई इमानदारिताका साथ पुरा गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close