‘वन्दे मातरम्’को १५०औँ वर्षगाँठमा वीरगञ्जमा जया भारतीको लोकसंगीत प्रस्तुति

‘वन्दे मातरम्’को १५०औँ वर्षगाँठमा वीरगञ्जमा जया भारतीको लोकसंगीत प्रस्तुति

वीरगञ्ज । भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्’को १५०औँ वर्ष पूरा भएको अवसरमा वीरगञ्जमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। भारतीय महावाणिज्य दूतावास, वीरगञ्जको आयोजनामा आइतबार साँझ वीरगञ्जस्थित टाउन हलमा लोकसंगीत तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा चर्चित लोकगायिका जया भारती तथा उनको सांगीतिक समूहले विभिन्न मैथिली तथा छठ पर्वसँग सम्बन्धित लोकगीत प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।

कार्यक्रमअघि भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले सांसद हरि पन्तलाई अंगवस्त्र प्रदान गरी सम्मान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै महावाणिज्यदूत मीनाले ‘वन्दे मातरम्’ भारतको सांस्कृतिक पहिचान र मातृभूमिप्रतिको समर्पणको प्रतीक भएको बताए। उनले यस गीतले भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा जनतामा राष्ट्रप्रेम र एकताको भावना जागृत गराउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। ‘वन्दे मातरम्’को १५० वर्षको गौरवपूर्ण यात्रा भारतको ऐतिहासिक, सांस्कृतिक तथा राष्ट्रिय चेतनासँग जोडिएको उनको भनाइ थियो। उनले भारत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई यस्ता सांस्कृतिक कार्यक्रमले थप सुदृढ बनाउने विश्वाससमेत व्यक्त गरे।

कार्यक्रमको सुरुवात लोकगायिका जया भारतीले भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्’ प्रस्तुत गरेर गरेकी थिइन्। त्यसपछि उनले स्वर्गीय शारदा सिन्हाद्वारा स्वरबद्ध दुई चर्चित गीत प्रस्तुत गरिन्।

त्यसैगरी विद्यापतिको पदावली, छठ पर्वका लोकगीत, भोले बाबाका नचारीलगायत विभिन्न मैथिली लोकसंगीत प्रस्तुत गर्दै उनले सांस्कृतिक माहोललाई थप उत्साहपूर्ण बनाइन्। मैथिली लोकसंस्कृति र परम्पराको झल्को दिने उनका प्रस्तुतिमा दर्शकले भरपूर मनोरञ्जन लिएका थिए।

कार्यक्रमको अन्त्यमा जया भारतीले परम्परागत समदाउन गीत प्रस्तुत गरेकी थिइन्।

सो अवसरमा महावाणिज्यदूत मीनाले लोकगायिका जया भारती तथा उनको सांगीतिक समूहका सदस्यहरूलाई अंगवस्त्र प्रदान गरी सम्मान गरेका थिए।

कार्यक्रममा भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका कन्सुल मनीष दास, सांसद हरि पन्त, समाजसेवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, बुद्धिजीवी, सञ्चारकर्मी र स्थानीय संगीतप्रेमीहरूको उपस्थिति रहेको थियो।

भारत र नेपालको साझा सांस्कृतिक सम्बन्ध, मैथिली लोकपरम्परा तथा संगीतको महत्वलाई उजागर गरेको उक्त कार्यक्रमले वीरगञ्जमा सांस्कृतिक सौहार्द, आपसी सद्भाव र दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने सन्देश दिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close