गोली लागेर घाइते बाराका १५ वर्षीय आदित्यको स्वास्थ्यमा सुधार, नेशनल मेडिकल कलेजमा सम्पूर्ण उपचार निःशुल्क

गोली लागेर घाइते बाराका १५ वर्षीय आदित्यको स्वास्थ्यमा सुधार, नेशनल मेडिकल कलेजमा सम्पूर्ण उपचार निःशुल्क

वीरगञ्ज । बाराको फेटा गाउँपालिका–३ मा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। जीवनमरणको अवस्थामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्ज ल्याइएका बालकको तत्काल शल्यक्रिया र सघन उपचारपछि स्वास्थ्यमा सुधार देखिएको हो। अस्पतालले आदित्यको आकस्मिक उपचारदेखि जटिल शल्यक्रिया, औषधि र सघन उपचारलगायत सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराएको जनाएको छ।

२०८३ कात्तिक १४ गते बिहान करिब १०ः३० बजे गोली लागेका आदित्यलाई करिब एक घण्टापछि बिहान ११ः३० बजे नेशनल मेडिकल कलेजको आकस्मिक कक्षमा पुर्‍याइएको थियो। अस्पताल ल्याउँदा उनको अवस्था अत्यन्तै गम्भीर थियो। अत्यधिक रक्तस्रावका कारण रक्तचाप घटेको, मुटुको धड्कन अस्थिर भएको र नाडी कमजोर भएको अवस्थामा उनी थिए।

गोली लागेर पेटभित्रका आन्द्रामा गम्भीर क्षति पुगेको थियो भने आन्द्राका केही भाग पेटबाहिर निस्किएका थिए। तत्काल शल्यक्रिया नगरिए ज्यानै जाने जोखिम रहेको चिकित्सकहरूले बताएका थिए।

विशेषज्ञ चिकित्सकको टोलीद्वारा जटिल शल्यक्रिया

बालकको अवस्थालाई ध्यानमा राख्दै बाल शल्यचिकित्सा विभागका चिकित्सक डा. विनोदकुमार रायको नेतृत्वमा सामान्य शल्यचिकित्सक डा. आदित्यप्रसाद र हाडजोर्नी विशेषज्ञ डा. रविन्सकुमार शाहसहितको टोलीले तत्काल जटिल शल्यक्रिया गरेको थियो।

शल्यक्रियाका क्रममा क्षतिग्रस्त आन्द्राको केही भाग काटेर हटाउने, आन्द्राका भागहरू पुनः जोड्ने, आन्द्रामा परेका प्वालहरू टाल्ने तथा दिसा निष्कासनका लागि वैकल्पिक मार्ग बनाउनेलगायतका जटिल उपचार प्रक्रिया पूरा गरिएको थियो। साथै, दाहिने नितम्बको भागमा लागेको गोलीसमेत निकालिएको थियो।

शल्यक्रिया सफल भए पनि बालकको अवस्था अझै जोखिमपूर्ण रहेकाले उनलाई सघन उपचार कक्षमा राखेर उपचार अगाडि बढाइएको थियो।

सघन उपचार कक्षमा चौबीसै घण्टा निगरानी

शल्यक्रियापछि सघन उपचार कक्षका प्रमुख डा. निरज केयाल र बेहोस बनाई शल्यक्रिया गर्ने तथा सघन उपचारसम्बन्धी विशेषज्ञ डा. राजेश यादवको निगरानीमा उपचार गरिएको थियो।

रातिको समयमा बालकको स्वास्थ्य अवस्था थप जटिल बनेको थियो। रक्तचाप र रक्तसञ्चार कायम राख्न तीन प्रकारका शक्तिशाली औषधि दिनुपरेको थियो। उनलाई कृत्रिम श्वासप्रश्वास यन्त्रको सहायता, चार एकाइ रगत र दुई एकाइ रगतबाट छुट्याइएको प्लाज्मासमेत चढाइएको थियो।

चिकित्सक, नर्स तथा प्राविधिक कर्मचारीको टोलीले चौबीसै घण्टा निगरानी गर्दै आवश्यक उपचार जारी राखेको थियो।

अस्पतालद्वारा सम्पूर्ण उपचार निःशुल्क

आदित्यको उपचारमा नेशनल मेडिकल कलेजले मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको छ। अस्पतालमा रहँदासम्म बालकलाई प्रदान गरिएका आकस्मिक उपचार, शल्यक्रिया, सघन उपचार, औषधि, रगत, प्रयोगशाला परीक्षण तथा अन्य आवश्यक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइएको अस्पतालले जनाएको छ।

उपचारका क्रममा परिवारसँग कुनै शुल्क नलिई सम्पूर्ण खर्च अस्पतालले नै व्यहोरेको थियो। आर्थिक अवस्थाका कारण बालकको उपचारमा कुनै बाधा नआओस् भन्ने उद्देश्यले अस्पताल प्रशासनले सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको जनाइएको छ।

प्रबन्ध निर्देशकको पहलमा सेनाको हेलिकप्टरबाट काठमाडौं स्थानान्तरण

बालकको अवस्था गम्भीर रहेकाले थप विशेषज्ञ उपचारका लागि काठमाडौं लैजानुपर्ने आवश्यकता देखिएको थियो। त्यसका लागि नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीको नेतृत्वमा अस्पताल प्रशासनले नेपाल प्रहरी, नेपाली सेना तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरेको थियो।

आफन्तको अनुरोध र थप उपचारको आवश्यकतालाई ध्यानमा राख्दै २०८३ कात्तिक १५ गते बिहान ११ः३९ बजे नेपाली सेनाको हेलिकप्टरबाट आदित्यलाई काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो।

भेन्टिलेटर हटाइयो, होसमा आएर खाना खान थाले

जीवनमरणको अवस्थामा अस्पताल ल्याइएका आदित्यको स्वास्थ्यमा अहिले उत्साहजनक सुधार आएको छ। नोभेम्बर २ सम्म प्राप्त जानकारीअनुसार उनलाई कृत्रिम श्वासप्रश्वास यन्त्रबाट हटाइएको छ। उनी होसमा आएका छन् भने आफैँ सास फेर्नुका साथै मुखबाट खाना खानसमेत थालेका छन्।

हाल उनी काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा थप उपचाररत छन्।

समयमै गरिएको आकस्मिक उपचार, जटिल शल्यक्रिया, निरन्तर सघन उपचार र स्वास्थ्य संस्थाहरूबीचको समन्वयले बालकको जीवनरक्षामा महत्वपूर्ण भूमिका खेलेको देखिएको छ।

विशेषज्ञ उपचारसँगै मानवीय सेवाको उदाहरण

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले यस घटनामा आकस्मिक उपचार र जटिल शल्यक्रिया मात्र नगरी बालकको जीवनरक्षाका लागि आवश्यक सघन उपचार, सम्पूर्ण उपचार खर्चको व्यवस्था तथा थप उपचारका लागि काठमाडौं स्थानान्तरणको समन्वयसमेत गरेको छ।

मधेश प्रदेशका विभिन्न जिल्ला तथा सीमावर्ती भारतीय क्षेत्रबाट समेत बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेशनल मेडिकल कलेजले यस घटनामार्फत विशेषज्ञ उपचार क्षमता र मानवीय सेवाप्रतिको प्रतिबद्धता प्रस्तुत गरेको छ।

नेशनल मेडिकल कलेज परिवारले आदित्य पासवानको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close