
वीरगञ्ज । प्रतिबन्धित क्रिप्टोकरेन्सी तथा हुण्डी कारोबारमार्फत करोडौँ रुपैयाँ विदेश पुर्याएको आरोपमा वीरगञ्जका एक युवाविरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ।
पर्साको वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्ज निवासी भेष चौरसियाविरुद्ध ‘देशभक्त नागरिक’का तर्फबाट उजुरी परेको हो। नेपालबाट गैरकानुनी रूपमा रकम विदेश ओसारपसार गरेको आरोप लगाउँदै उजुरीकर्ताले उनीमाथि छानबिन गर्न माग गरेका छन्।
उजुरीमा प्राप्त सूचनाअनुसार चौरसियाले नेपालमै बसेर अवैध क्रिप्टोकरेन्सी तथा विदेशी मुद्रा कारोबार गर्दै दुबईमा तीनवटा घर खरिद गरेको दाबी गरिएको छ। उनको आर्थिक पृष्ठभूमि र वैध आयस्रोतको तुलनामा दुबईमा रहेको सम्पत्ति अस्वाभाविक देखिएकाले सम्पत्ति खरिदमा प्रयोग भएको रकमको स्रोत अनुसन्धान गर्न माग गरिएको छ।
३७९२ दर्ता नम्बर रहेको उजुरीमा चौरसियाको दुबईमा तीनवटा महल रहेको सूचना प्राप्त भएको उल्लेख छ। उनको आर्थिक पृष्ठभूमि र वैध आयस्रोतको तुलनामा उक्त सम्पत्ति कसरी आर्जन भयो भन्ने विषयमा छानबिन गरी सम्पत्ति खरिदमा प्रयोग भएको रकमको स्रोत जाँच गर्न आग्रह गरिएको छ।
त्यस्तै, चौरसियाले कारोबारका लागि अनिश कुमार साह र उज्ज्वल साहको बैंक खाता प्रयोग गर्दै आएको उजुरीकर्ताको दाबी छ। अस्ट्रेलियाबाट नेपालमा रकम भित्र्याउन अन्य व्यक्तिहरूको समेत बैंक खाता प्रयोग भएको हुनसक्ने आशंका उजुरीमा गरिएको छ।
उजुरीमा चौरसियाको विगतको आपराधिक पृष्ठभूमिसम्बन्धी विवरणसमेत उल्लेख गरिएको छ। जनाइएअनुसार उनी सन् २०१७ मा अस्ट्रेलिया पुगेका थिए। अपांगता बिमासम्बन्धी ठगीमा पक्राउ परेपछि सन् २०२४ मा डिपोर्ट भएको उजुरीमा उल्लेख छ।
उनका भाइ सुनील र बाबु रघुनाथ विगतमा लागूऔषधसम्बन्धी कसुरमा दोषी ठहर भएको सन्दर्भसमेत उजुरीमा खुलाइएको छ।
नेपाल फर्किएपछि सत्ता निकटका व्यक्तिहरूलाई प्रलोभनमा पारेर उनले हुण्डीको सञ्जाल फैलाएको पनि उजुरीकर्ताले आरोप लगाएका छन्।
उजुरीकर्ताले प्रतिबन्धित क्रिप्टोकरेन्सी, विदेशी मुद्रा कारोबार, हुण्डी सञ्जाल, बैंक खाताको प्रयोग तथा विदेशमा रहेको सम्पत्तिको स्रोतबारे सम्बन्धित निकायबाट विस्तृत छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्। स्रोत : जनआस्था



