नेपाली कांग्रेको काँधमा ऐतिहासिक जिम्मेवारी र अबको जनमत

लेखक:- धिरज गुप्ता

यति बेला मुलुकको राजनीति त्यति सहजरूपमा अघि बढ्न सकेको छैन । अब के हुन्छ कसैलाई थाहा छैन । अब यही सरकारले निरन्तरता पाउँछ कि अर्को सरकार बन्छ भन्ने कुरा नै सबैको चासोको विषय बनेको छ । त्यसो त राजनीतिमा कतिखेर के हुन्छ कुनै ठेगान हुँदैन । अब यही सरकार कायम हुन्छ या नयाँ सरकार बन्छ भन्ने कुरामा अनेक खालको बहस भने चलिरहेको छ । यति बेलामुलुकको राजनीति धु्रवीकरण भइरहेको छ । यो सवैलाई थाहा छ । राजसपाले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरे ओली सरकार नै कायम रहने देखिन्छ । यदि राजसपाले ओलीलाई साथ नदिए कांग्रेस, माओवादी केन्द्र र राजसपाको त्रिशंकु सरकार बन्ने अवस्था पनि छ ।

राजसपामा पनि केपी ओलीलाई साथ दिने कि कांग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउने भन्ने कुरामा विवाद छ । खासगरी राजसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो केपी ओलीको पक्षमा उभिएका छन् भने अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीको विपक्षमा छन् । भट्टराई र यादव कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको पक्षमा उभिएको संकेत देखिन्छ । यता माओवादी केन्द्रले अहिलेसम्म वर्तमान सरकारलाई दिएको पूर्वसमर्थन फिर्ता लिएको छैन । जसका कारण वर्तमान सरकार बहुमतमै छ ।

यदि माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लियो भने सरकार स्वतः अल्पमतमा पर्नेछ । त्यसपछिमात्र नयाँ सरकार बन्ने खेल सुरु हुन्छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन किन फिर्ता लिइरहेको छैन ? यो गम्भीर प्रश्न छ । नेपाली कांग्रेसले नयाँ सरकारभन्दा पनि नयाँ निर्वाचनमा जोड दिइरहेको छ । कारण के हो भने कम्युनिष्ट पार्टीहरू फुटेको अवस्थामा निर्वाचनमा जाँदा पार्टीलाई फाइदा पुग्ने अनुमान कांग्रेसको छ । त्यही भएर कांग्रेस निर्वाचनमा जोड दिन्छ । त्यसो त प्रधानमन्त्री ओली पनि नयाँ निर्वाचनमा जोड दिन चाहन्छन् । सत्तामा रहेका बेला निर्वाचनमा जाँदा बहुमत ल्याउँछु भन्ने ओलीको मनोविश्लेषण हुनसक्छ । यो विषयमा माओवादी केन्द्रका नेताहरू मौन छन् ।

सर्वाेच्च अदालतको फैसलाले पूर्वनेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका छन् । सर्वाेच्च अदालतको फैसलापछि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह राजनीतिक सकसमा परेका छन् । सबैभन्दा बढी सकस माधव नेपाल–झलनाथ खनाल समूहलाई परेको देखिन्छ । एमाले अध्यक्ष केपी ओलीले माधव–झलनाथ समूहलाई पेल्नु पेलेका छन् । जसको कारणले गर्दा माधव–झलनाथ समूह पार्टीमा समानान्तर गतिविधि सञ्चालन गरिरहेका छन् । पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत चाहिन्छ ।

माधव–झलनाथ समूहलाई ठूलो समस्या परेको छ । माधव–झलनाथ समूहमा केन्द्रीय समितिमा ४० प्रतिशत भए पनि संसदीय दलमा यो संख्या छैन । अब नेपाल–खनाल समूह पार्टीमै रहने र समानान्तर गतिविधि गर्ने निष्कर्षमा पुगेको देखिन्छ । भारत खास गरी अमेरिका र चीनको प्रभाव नेपाली राजनीतिमा नपरोस् भन्न चाहन्छ । भारत, चीन, अमेरिकाको नेपालमा आआफ्नै किसिमको स्वार्थ छ । एमाले र माओवादी केन्द्रको गठबन्धनलाई जनताले झण्डै दुई तिहाइ बहुमत दिएकै थिए । आपसमा मिल्न नसकेर भाँडभैलो छ । अब चुनावमा जाँदा एमाले र माओवादी केन्द्रलाई जनताले फेरि पत्याउलान् ? एमाले र माओवादी केन्द्र जनतासँग के भनेर भोट माग्न जाने ?

यदि पार्टी र मुलुकको भविष्य सोच्ने हो भने केपी ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम मिलेर जानुपर्छ । त्यतिमात्र होइन अलग पार्टीमा रहेका पुष्पकमल दाहाल प्रचण्डलाई समेत सहभागी बनाएर सँगै लैजाने प्रयास हुनुपर्छ । यो तालले देश चल्दैन । कांग्रेस चुनावमा जान हतारिनुको प्रमुख कारण भनेको के हो भने कम्युनिष्टहरूको फुटलाई आधार मानेर हो । जनताले एमाले र माओवादी केन्द्रलाई पाँच वर्षका लागि सरकार चलाउन स्पष्ट म्यान्डेट दिएका हुन् । यो पाँच वर्षको अवधिमा अझै लगभग दुई वर्ष सरकार चलाउने समय बाँकी छ । यदि एमाले र माओवादी केन्द्र यसरी नै जाने हो भने अबको जनमत कांग्रेसतिर नजाला भन्न सकिँदैन ।

नेपाली जनताले राजनीति परिवर्तनका लागि पटकपटक आन्दोलन गरे । जनताकै बलमा देशमा राजनीकि परिवर्तन त भए तर जनताले परिवर्तनबाट खासै केही पाएनन् । जनताले राजनीतिक दलहरूलाई सहयोग गर्दै आएका छन् । तर राजनीतिक दलहरूले जनताको भाग्य र भविश्यमाथि खेलबाड गरे । यो नै दुःखको कुरा हो । परिवर्तनका लागि हजारौं जनता शहीद भए । नेपाली जनताका छोराछोरीहरू देशको मुहार फेर्न शहीद भएका हुन् । कुनै नेताको व्यक्तिगत जीवन सुधार्न शहीद भएका होइनन् । नेपाली जनताको बलमा राज्यव्यवस्था नै परिवर्तन भयो । संविधानसभाबाट संविधान बन्यो ।

अब त देशमा विकासको लहर आउला कि भन्ने बेलामा फेरि राजनीतिक दलहरू एकआपसमा लडेर राजनीतिक अस्थिरता ल्याउने खेलमा छन् । सत्तामा पुगेका दलका नेताहरू आपसी मनमुटावमा छन् । अहिले हरेक दलभित्र गुट, उपगुटको राजनीति चलिरहेको छ । सत्ता स्वार्थको राजनीतिले देश अघि बढ्न सकेको छैन । नेताहरूमा राजनीतिक संस्कार छैन । राजनीतिक विसंगतिले देशमाथि उठ्न सकेन । यस्तो राजनीतिक अभ्यासले नेपाली समाज अघि बढ्न सक्दैन । अहिले कुनै दलका नेताहरूसँग देश विकासको स्पष्ट दृष्किोण देखिँदैन ।

नेताहरूसँग भ्रष्टाचार नियन्त्रण गर्ने कुनै कार्य योजना छैन । नेताहरू पद, पैसा र फाइदाको राजनीतिक खिचातानीमा व्यस्त छन् । सबैलाई मिलाउनसक्ने नेतृत्वको अभाव छ । देशमा सुशासन कायम हुन सकेको छैन । विधिको शासनमा देश चल्न सकेको छैन । हाम्रा राजनीतिक दलमा न्यूनतम नैतिक आचरण देखिँदैन । पद र पैसा पाएपछि नेताहरू मख्ख छन् । आमनागरिक समस्यासँग जुधिरहेका छन् । आफ्नै दलभित्र नेताहरू मिल्न सक्दैनन् । यहाँ राजनीतिक संस्कारको कमी छ । लोकतान्त्रिक आचरणको अभाव छ । हाम्रो देशका राजनीतिक दलमा सिद्घान्त, निष्ठा, आदर्श, विचार र पद्घतिको कुनै वास्ता छैन ।

अहिले ओली सरकारलाई हटाउने खेल सुरु भइसकेको छ । अब सत्ता स्वार्थको फोहरी खेल भोग्न बाध्य हुनुपर्ने अवस्था सिर्जना हँुदैछ । सत्तास्वार्थमा फसेका राजनीतिक दलहरूबाट जनताले आशा गर्न पनि छाडिसके । दलहरूका बीचमा सहमति हुनुपर्ने बेला हो यो । पैसाको चलखेलमा नेता लागेका छन् । भागबण्डाको राजनीतिले देश पछाडि परेको छ । फेरि सरकार गिराउने धन्दा भयो भने मुलुक अस्थिरतामा गयो भन्ने जाने हुन्छ । देशमा सधैं राजनीतिक गाईजात्रा भइरहेको छ । आमनिर्वाचनबाट अनुमोदित तत्कालीन एमाले र माओवादी दलको एकीकरणपछाडि समाजले ठूलो अपेक्षा राखेको थियो तर जनताको अपेक्षाबमोजिम काम हुन सकेन ।

नेपाली समाजको विकासको सपनामा तुषारापात हुनपुगेको छ । सत्तामा पुगेपछि नेताहरूले विकास र समृद्घिको बाटो भुलेर गएका छन् । नेकपा एमाले सत्तास्वार्थको आन्तरिक झमेलामा फसेको छ । मुलुकको राजनीति भागबण्डामा अल्झिएको छ । यसरी देश चल्न समस्या हुन्छ । लामो समयसम्म लोकतन्त्रको नाममा सीमित व्यक्ति र समूहले राज्यको सुविधामा फाइदा लिएका छन् । देशमा भ्रष्टाचार, नातावाद, कृपावाद र दलगत स्वार्थ बढ्दै गएको छ । लोकतन्त्रको मूल्य, मान्यता र मर्ममाथि प्रहार भएको छ । राजनीतिक दलको आचरण लोकतान्त्रिक हुन सकेन । जसका कारण देशले दुःख पाइरहेको छ । नेपाली जनताले विकृति र विसंगतिको भण्डाफोर गर्दै जानुपर्छ ।

यो देश नेताहरूको पेवा होइन । नेताहरूले जे चाहृयो त्यो हुँदैन । जनता नै सार्वभौम हुन् । जनताको पिर मर्का नबुझ्ने दलहरूको अब काम छैन । आगामी निर्वाचनमा जनताले त्यस्ता नेताहरूलाई धुलो चटाइदिने छन् । यो कुरा अहिले नै बुझेर बसे हुन्छ । नेताहरूको पछि जनता सती जानुपर्ने कुनै कारण छैन । अहिले देशमा जुन ताण्डप भइरहेको छ त्यो सही छैन । जनता यो राजनीतिक गतिविधि देखेर वाक्क दिक्क छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close