
प्रसिद्ध धार्मिक पर्यटकीयस्थल ताप्लेजुङको पाथीभरा दर्शनको लागि धरानबाट हेलिकोप्टरमार्फत यात्रा गर्न सकिने भएको छ ।
धरान होलिडेज प्रालिले बिहीबार पत्रकार सम्मेलन गर्दै आगामी वैशाख ५ गतेबाट धरानदेखि पाथीभरा मन्दिरसम्म हेलिकोप्टरमार्फत दर्शन गर्न सकिने जनाएको छ ।
सरल किस्ताबन्दीमा बिना ब्याज हेलिकोप्टरमा पाथीभरा दर्शन गर्ने व्यवस्था गरिएको प्रालिका अध्यक्ष कुन्दन श्रेष्ठले जानकारी दिए ।
पाथीभरा दर्शनको लागि एक जनाको शुल्क २९ हजार ९ सय ९९ रुपैँया तोकिएको छ । प्रालिले माउण्टेन फ्लाइट गर्न चाहनेहरुको लागि पनि सेवा दिने जनाएको छ । यसको लागि प्रतिव्यक्ति ६९ हजार ९ सय ९९ शुल्क तोकिएको छ ।
प्रालिका अनुसार धरान, इटहरी र विराटनगरका विभिन्न सहकारीमार्फत सरल किस्ताबन्दीमा हेलिकोप्टर यात्राको सुविधा उपलब्ध छ ।
प्रालिले ७० बर्ष पुगेका ज्येष्ठ नागरिक र अशक्तहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ ।
धरान स्टेडियमबाट हेलकोप्टर उडान हुने समितिका प्रतिनिधि अमृत मान्नधरले बताए । हाल अपरेटिङ मूल्य र फ्युलको मूल्य बृद्धि भएकाले शुल्क बढेको उनको भनाइ थियो ।
धरान होलिडेज प्रालिका मार्केटिङ प्रतिनिधि कबिन श्रेष्ठले निम्न वर्गीय परिवारलाई पनि ध्यानमा राखेर विभिन्न ९ जना सहकारीहरुको सदस्य माध्यमबाट पाथीभरा दर्शन गर्न पाउने ब्यवस्थाको अवसर प्रदान गरेको बताए । उक्त कार्यक्रममा संचालक अजय खनाल, त्रिरत्न अधिकारी, झरना बचत सहकारीका अध्यक्ष मान बहादुर मगर लगायतको उपस्थिति रहेको थियो ।takuranews




