यातायात व्यवस्था कार्यालयको गोरख धन्दा, सवारीधनीको उपस्थिति विना नै फर्जी नामसारी !

यातायात व्यवस्था कार्यालय नारायणी, वीरगन्जको ब्लुबुक फाँटका कर्मचारीहरुको मिलोमत्तोमा सवारीधनीको उपस्थिति विना नै सवारी नामसारी हुने गरेको तथ्य फेला परेको छ ।

कार्यालयको प्रमुखसहित लेखामा कार्यरत उपेन्द्र यादव, शनी झाको मिलोमत्तोमा सवारीधनी एवं क्रेताको उपस्थिति विना नै सयौं ब्लुबुकहरु नामसारी हुने गरेको पाइएको हो ।

नारायणघाटदेखि नवलपरासीसम्म रहेका रि–कण्डिसनका शो रुमबाट विक्री भएका मोटरसाइकलहरुको सवारीधनीको उपस्थिति विना नै एक पटकमा १ सयदेखि १५० वटा ब्लुबुकहरु नामसारी हुने गरेको छ ।

सवारीधनीको उपस्थिति बेगर नामसारीका लागि प्रति ब्लुबुक ३ देखि ५ हजार रुपैया कर्मचारीलगायत कार्यालय प्रमुखलाई बुझाउने गरिएको छ ।

रि–कण्डिशन शो रुपमा राखिका सवारीधनीहरु वैदेशिक रोजगारमा रहेका र कतिपयको मृत्युसमेत भइसकेको अवस्थामा उक्त गाडीलाई रि–कण्डिशन शो रुममा राखेर विक्री गरि सञ्चालकहरुले यातायात व्यवस्था कार्यालयमा करारमा कार्यरत बाराको प्रसौनी गाउँपालिका–३ नौतन निवासी रामप्रवेश यादवको नेतृत्वमा कार्यालयका कर्मचारीहरुको मिलोमत्तोमा फर्जी नामसारी गराउने गरेका छन् ।

करारमा कार्यरत यादव नारायणघाटलगायत विभिन्न स्थानमा रहेका रि–कण्डिशन शो रुमका सञ्चालकहरुसँग मिलोमतोमा ब्लुबुक संकलन गराएर आफैले औंठा छाप लगाएर एक पटकमा १ सय देखि १५० वटा ब्लुबुकको कीर्ते नामसारी गराउने गरेको तथ्य फेला परेको हो ।

यादव यातायात कार्यालयमा सहयोगीको रुपमा कार्यरत रहेपनि विचौलियाको रुपमा काम गर्दै आएका छन् । चितवनस्थित रि–कण्डिशन शोरुम सञ्चालन गरेका विकास थापाले एक पटकमा एक देखि डेढ सय ब्लुबुक नामसारीका लागि यादवलाई दिने गरेको र यादवले कर्मचारीहरुको मिलोमत्तोमा फर्जी नामसारी गराउने गरेका छन् ।

सवारी नामसारीका लागि ९सनाखत०गर्न सवारी धनी र किन्ने व्यक्ति दुबैलाई उपस्थित हुनुपर्नेमा विक्रेता वैदेशिक रोजगारमा रहेको कारण रि–कण्डिशन शो रुमका सञ्चालकले घुस दिएर सनाखत गराई नामसारी गराउने गरेका छन् ।

केही दिनअघि मात्रै नामसारी भएका ना ५० प ३०९०, ना ४६ प २०४३, ना ४५ प ७५६९ लगायतको सवारीधनी वैदेशिक रोगजारको क्रममा रहेकोमा घुस दिएर सनाखत गराई करार कर्मचारी रामप्रवेश यादवले आफै औठा छाप लगाई नामसारी गराएका छन् ।

यिनीहरु त प्रतिनिधि पात्र मात्रै हुन्, यस्ता १ हजार भन्दा बढी ब्लुबुकहरु सवारीधनीको उपस्थिति बेगर नामसारी भएको पाइएको छ ।
साधारण नागरिकहरु गाडी नामसारी गराउन जाँदा दुबै पक्षको उपस्थिति बिना नामसारी नगर्ने यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुले रि–कण्डिशन शो रुमका सञ्चालकहरुले दिएका सयौं ब्लुबुकहरु विक्रेता वा क्रेताको उपस्थिति बिना नै नामसारी गर्ने गरेका छन् ।

नामसारी भएका १२ सय भन्दा बढी ब्लुबुकको ढड्डामा रेकर्ड नै गरिएन !

यातायात व्यवस्था कार्यालय, सवारी शाखा वीरगन्जमा घुस नदिएको कारण नामसारी गरिएका ब्लुबुकहरुको रेकर्ड ढड्डामा उल्लेख गरिएको छैन ।

कार्यालयका कर्मचारी लगायत कार्यालय प्रमुखलाई घुस नदिएको कारण ब्लुबुकमा नामसारी भइसकेको करिब १२ सय सवारी साधनहरुको रेकर्ड ढुड्डामा उल्लेख हुन सकेको छैन ।

सवारी फाँटको कोठा नं। ६ मा हुने यातायात कार्यालयले सवारी साधनको रेकर्ड सुरक्षित राख्नका लागि ब्लुबुकमा नामसारी गरे पश्चात ढुड्डा रेकर्ड गर्ने गरिन्छ तर, गत २०७७ असोज महिना यता नामसारी भएका मोटरसाइकलको ब्लुबुकहरुको रेडर्क ढड्डामा उल्लेख हुन सकेको छैन ।

ना २३ प २५२४, ना २० प ७८५३, ना ४६ प १६५६, ना ६० प २४९२, ना ६ प ३३१६, ना २० प ९७४९ लगायत १२ सय ब्लुबुकहरु नामसारी भएको करिब ६ महिना हुन लाग्यो तर हालसम्म ढड्डामा रेकर्ड गरिएको छैन ।

प्रत्येक ब्लुबुक वापत १ हजारको दरले कार्यालय प्रमुख लगायत कर्मचारीहरुलाई घुस दिए मात्रै ढड्डामा उल्लेख गर्ने गरिएको अवस्थामा त्यही बापतको पैसा नबुझाइएको कारण १ हजार भन्दा नामसारी भएका ब्लुबुकहरुको रेकर्ड यातायात कार्यालयको ढट्टामा उल्लेख हुन सकेको छैन ।

नामसारी भएका सवारी साधनहरुको ब्लुबुक हराएपछि उक्त गाडी कसको हो रु भन्ने यातायात कार्यालयसँग कुनै किसिमको रकर्ड नै रहँदैन । रि–कण्डिशन शोरुमबाट सवारी किनेकाहरुले ब्लुबुक लिएर हिँडि रहेपनि त्यसको यातायातमा कुनै रेकर्ड नरहेको कारण सवारीधनीहरुसँग खेलवाड भइरहेको छ ।

कार्यालय प्रमुख साह कार्यभार सम्हालेको १ वर्ष वित्न लाग्दा विगतमा कोरोना संक्रमणको कारण सवारी नामसारी प्रक्रिया बन्द रहेको र असोजदेखि सवारी नामसारी प्रक्रिया शुरु भएपनि कमिसनको कारण असोज महिना यतादेखि नामसारी भएका ब्लुबुकहरुको रेकर्ड अझैसम्म ढड्डामा उल्लेख हुन पाएका छैनन् ।

यसबारे कार्यालयका प्रमुख कुसेश्वर साहसँग बुझ्दा यि ब्लुबुकहरुको रेकर्ड ढड्डामा नरहेको बताए । उनका अनुसार नामसारी भएका ब्लुबुकहरु कहाँबाट र कसरी नामसारी भयो, आफूलाई जानकारी समेत नरहेको भन्दै यसमा गरिएको हस्ताक्षर पनि कार्यालयका लेखामा कार्यरत उपेन्द्र यादवको नरहेको बताए ।

यसबारे लेखामा कार्यरत कर्मचारी उपेन्द्र यादवले पनि कसैले आफ्नो हस्ताक्षरको नक्कल गरेर ब्लुबुकमा हस्ताक्षर गरेर नामसारी गरेको हुनसक्ने बताए । तर क्रेता र विक्रेताको उपस्थिति बिना फर्जी नामसारी भइसकेका गाडीहरुको ढड्डामा पनि गरिएको हस्ताक्षर यादवको हस्ताक्षरबाट मेल खाएको छैन ।news24nepal

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close