मध्यावधि निर्वाचन भए पर्साका चार गापाका ३ हजार मतदाता वञ्चित हुने

मध्यावधि निर्वाचन वैशाखमा हुने हो भने पर्सा जिल्लाको चारवटा गाउँपालिकाका तीन हजारजना मतदान गर्नबाट वञ्चित हुनेछन्।

जिल्ला प्रशासन कार्यालय, पर्सा अन्तर्गतको सुपौलीमा रहेको इलाका प्रशासन कार्यालयबाट अहिलेसम्म नागरिकता लिएका तीन हजार नागरिक मतदान गर्नबाट वञ्चित भएका हुन्। जिल्ला प्रशासन कार्यालय, पर्सामा नागरिकता लिएसँगै मतदाता परिचयपत्र बनाउने काम जारी छ तर इलाका प्रशासन कार्यालय, सुपौलीमा अहिलेसम्म सो व्यवस्था नभएकोले त्यहाँबाट नागरिकता लिएका तीन हजार मानिस मतदाता परिचयपत्रबाट वञ्चित हुने भएका हुन्।

इलाका प्रशासन कार्यालय, सुपौलीबाट थोरै सङ्ख्यामा मात्र मानिसले जिल्ला निर्वाचन कार्यालयमा गएर मतदाता परिचयपत्र बनाएका छन्। नागरिकता लिएसँगै मतदाता परिचयपत्रको लागि फोटो खिचाउने, आवेदन भर्ने काम नहुँदा करीब तीन हजार मानिस मतदाता हुनबाट वञ्चित भएका हुन्। इलाका प्रशासन कार्यालय सुपौलीका शाखा अधिकृत विनयकुमार श्रीवास्तवले नागरिकता बनाउनेहरूलाई मतदाता परिचयपत्रको लागि २०७६ साउनमा जिल्ला निर्वाचन कार्यालय पर्सालाई पत्राचार गरेको बताए। तर उनले निर्वाचन कार्यालयबाट कर्मचारीको टोली सुपौलीमा नआएको हुँदा मतदाता परिचयपत्र बन्न नसकेको बताए।

जिल्ला निर्वाचन कार्यालय, पर्साका निर्वाचन अधिकृत रञ्जीता झाले कर्मचारी अभावमा इलाका प्रशासन कार्यालय, सुपौलीमा मतदाता परिचयपत्रको काम हुन नसकेको बताइन्। उनले कर्मचारी व्यवस्थापनको लागि निर्वाचन आयोगमा पत्राचार गरेको जानकारी गराइन्। अहिले निर्वाचनको मिति घोषणा भइसकेको कारण यस सम्बन्धमा आयोगले कुनै निर्देशन नगरेको उनले बताइन्।eprateek daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close