
बिरगंज , फागुन ०२ गते बुधबार ।
मधेस प्रदेश अन्तर्गत सप्तरी जिल्लाका वरिष्ठ पत्रकार बैद्यनाथ झा गोतामे पत्रकारिता स्वर्ण पदकबाट सम्मानित हुनु भएको छ ।
पर्साबाट संचालित पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगन्जद्वारा सोमबार नेपाल पत्रकार महासघ पर्साको सभाहलमा आयोजित एक कार्यक्रममा झालाई एक तोला सुन बराबरको स्वर्ण पदक प्रदान गरि सम्मानित गरिएको थियो।
तीन दशकदेखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याएबापत झालाई कदर पत्र र स्वर्ण पदकबाट सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । गोतामे पत्रकारिता स्वर्ण पदकबाट सम्मानित झा सप्तरीबाट प्रकाशित आजको वातावरण दैनिकका सम्पादक समेत रहेका छन् । २०६८ सालमा स्थापित प्रतिष्ठानले पहिलो वर्ष मकवानपुरका पत्रकार प्रताप विष्टलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको थियो । प्रतिष्ठानले १० हजार रुपैयाँबाट सुरु गरेको पुरस्कार १५ हजार, आधा तोला सुन हुँदै पछिल्लो ३ वर्षयता एक तोला सुनबराबरको स्वर्ण पदकसम्म पुर्याएको हो ।
प्रतिष्ठानका अध्यक्ष एवम् वरिष्ठ पत्रकार जगदिश शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले भने आजको पत्रकारितामा स्व. गोपालचन्द्र गौतमको आत्मा आउँनु पर्ने कुरामा जोड दिए । आफु पदमा रहुन्जेल पत्रकारहरुको वृद्धि विकासका लागि काम गरी रहने र नगरप्रमुख नरहेपनि पत्रकारहरुसँग काँधमा काँध मिलाएर समाजको विकासको लागि काम गर्ने बताए । पत्रकारिता नरहे राज्य नै खतरामा पर्ने बताउदै सरावगीले यस पेशामा देखिएको बेथिती अन्त्य गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रहरी उपरिक्षक रमेशकुमार वस्नेत, सशत्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल, वरिष्ठ समाजसेवी एवं जेष्ठ नागरिक पशुपति बिक्रम शाह , श्रीमती उषा शाह , नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी, पुर्व अध्यक्ष शत्रुधन नेपाल, महेश दास , महेश चन्द्र गौतम, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोठी मगर , आरके पटेल , प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतम लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार महासङ्घ मधेस प्रदेशका महासचिव श्याम बञ्जारले गरेका थिए ।




