
सीमा अतिक्रमण गर्ने भारतीय कदमको विरोध गर्न नेविसंघको आग
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सीमा अतिक्रमण गर्ने भारतीय कदमको विरोध गर्न सरकारसँग आग्रह गरेको छ । भारतले चीनको मानसरोवरसम्म पुग्ने बाटो निर्माण गर्ने वहानामा नेपाली भू–भाग लिपुलेक हुँदै सडक निर्माण कार्य अघि बढाएपछि नेविसंघले सीमा मिच्ने भारतीय कदमबिरुद्ध आवाज उठाउन सरकारको ध्यानाकर्षण गराएको हो ।
केही समय अघि नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पीयाधुरा भारतले आफ्नो नक्सामा राखी प्रकाशित गर्नु र अहिले उक्त भू–भाग मै भारतीय राजमार्ग निर्माण गर्नु खेदजनक भएको नेविसंघले बताएको छ ।
“आफ्नो सीमा मिचिँदा पनि थाहा नपाए झैँ गरी चुप लागेर बस्ने वर्तमान सरकारको कार्यले हामीलाई थप सशंकित बनाएको छस कतै यही सरकारको साथ र समर्थनमा यस्ता गम्भीर कार्य भइएरहेको त छैन ?,” नविसंघले आज एक विज्ञप्ती जारी गर्दै भनेको छ, “चुनावको समयमा राष्ट्रियताका ठूला र खोक्रा नारा दिने यो सरकारको अहिलेको लम्पसारवादी प्रवृत्ति, भारतको मिचाह प्रवृत्तिभन्दा पनि खतरनाक छ । सरकारले नेपाली जनता समक्ष आफ्नो धारणा तुरुन्त प्रष्ट पारोस् ।उच्च स्तरीय कुटनीतिक पहल गरी उक्त कार्य तुरुन्त रोक्न लगाउन नेपाल सरकारसँग हामी जोडदार माग गर्दै नेविसंघले भनेको छ, “चुनावका समयमा राष्ट्रियताका उग्र कुरा गरी जनता झुक्याई भोट लिने, सरकारमा पुगेपछि खुल्लम–खुला सीमा मिचिँदा पनि चुप लागेर बस्ने प्रवृत्तिले यो सरकारको असली अनुहार जनता सामू प्रष्ट भएको छ ।”
“कोरोना संक्रमित जनताको जीवन रक्षामा गम्भीर नभएको आरोप लगाएको नेविसंघले नेपाली सीमा मिचिँदा पनि सरकार नबोलेको भन्दै वर्तमान सरकार नेपाली जनताको सरकार हुन सक्छ र ?” विज्ञप्तीमा भनिएको छ । यता, नेपाल सरकारले नेपाली भूमिमा भइरहेका कुनै पनि गतिविधि नगर्न भारत सरकारलाई आग्रह गरेको छ । सरकारले शनिबार एक विज्ञप्ति जारी गर्दै भारत सरकालाई नेपाली भूमिभित्र कुनै पनि गतिविधि नगर्न आग्रह गरेको हो ।




