शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन उल्लेखनीय भूमिका खेल्ने धनुषाका प्रहरी निरीक्षक मनोज कुमार यादव ‘पुलिस अफ द मन्थ’ घोषित

शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन उल्लेखनीय भूमिका खेल्ने धनुषाका प्रहरी निरीक्षक मनोज कुमार यादव ‘पुलिस अफ द मन्थ’ घोषित

राहुल गुप्ता
जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक मनोज कुमार यादवलाई २०८२ साल फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ। उत्कृष्ट कार्यसम्पादन, जिम्मेवारीप्रति उच्च निष्ठा र प्रभावकारी सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

प्रहरी निरीक्षक यादवले फागुन महिनामा सम्पन्न विभिन्न महत्त्वपूर्ण गतिविधिहरूमा सक्रिय नेतृत्व देखाएका थिए। विशेषगरी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन उनले खेलेको भूमिका उल्लेखनीय रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनले जिल्लाका संवेदनशील क्षेत्रहरूको पहिचान गरी समयमै प्रभावकारी सुरक्षा योजना तयार पारेका थिए। सो योजनाअनुसार प्रहरी परिचालन, निगरानी तथा सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउँदै सम्भावित जोखिमहरूलाई नियन्त्रणमा राख्न सफल भएका थिए।

यादवको नेतृत्वमा मतदान केन्द्रहरूमा कडा सुरक्षा व्यवस्था मिलाइएको थियो। नियमित अनुगमन, मोबाइल गस्ती र निगरानी प्रणालीलाई सुदृढ बनाउँदै निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्न उनले सक्रिय भूमिका निर्वाह गरेका थिए। जसका कारण जिल्लामा कुनै पनि अवाञ्छित गतिविधि बिना निर्वाचन सफलतापूर्वक सम्पन्न भएको प्रहरी कार्यालयको भनाइ छ।

प्रहरी संगठनप्रति इमान्दारिता, कर्तव्यनिष्ठा र उच्च व्यावसायिक क्षमताका साथ कार्य गर्दै आम नागरिकमा सुरक्षा अनुभूति दिलाउन योगदान पुर्‍याएको मूल्यांकनका आधारमा उनलाई ‘पुलिस अफ द मन्थ’ को रूपमा सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close