
राहुल गुप्ता
परवानीपुर गाउँपालिकाले कर अभियानलाई प्रभावकारी बनाउन अनलाइन कर अभियाननको शुभारम्भ गरेको छ।अभियानको शुभारम्भ वडा नम्बर १ बाट शुरु गरिएको थियो।अझैपनि सम्पत्ति कर लगायतका करहरु उठ्न नसकेको र गाउपालिकाले लक्ष्य अनुसारको आन्तरिक राजस्व संकलन गर्न अनलाइन कर संकलन अभियान शुरु गरिएको हो।
अनलाइन कर अभियान यहि असार १७ गते देखि २१ गते सम्म चलाइने परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी गराएका छन । अब घरबाटै वा संसारको जुनसुकै ठाउँबाट पनि अनलाइनमार्फत कर तथा कर तिर्न सकिने उनले बताए । कर तिर्नका लागि नाम टिपाएपछि गाउँपालिकाले युजर नेम र पासवर्ड वितरण गर्नेछ । त्यसपछि स्वदेश तथा विदेश जहाँबाट पनि नेपालको कुनै बैंकमा रहेको आफ्नो खाताबाट कनेक्ट आइपिएसका माध्यमबाट वा इ सेवा बालेटबाट सजिलै कर तथा राजस्व भुक्तानी गर्न सकिने उनले जानकारी गराए ।
परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री राउतले आम्दानीको स्रोत रहेको राजश्व संकलन कम भएको हुनाले यसलाई वृद्धि गरी जनतामा आधारभूत र विकास निर्माण कार्य पुरा गर्न यस अभियान सञ्चालन गरिएको जानकारी गराए ।
अनलाइन कर संकलन अभियान असार १७ गते बाट सुरु भइ असार २१ गते सम्म चल्ने जनाइएको छ । यस अन्तरगत मालपोत कर,भुमी कर,घरजग्गा कर, ब्यवसायिक लगायत करहरु अनलाइन मार्फत बुझाउन सकिन्छ।




