
काठमाडौं । डिभिजन वन कार्यालय पर्साले अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार २९१ क्युफिट काठ बरामद गरेको छ। कार्यालयले आर्थिक वर्ष २०७९/८० देखि २०८०/८१ सम्मको दुई वर्षको अवधिमा सो परिमाणको काठ बरामद गरेको हो
वीरगञ्ज, (पर्सा) ४ भदौ : डिभिजन वन कार्यालय पर्साले अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार २९१ क्युफिट काठ बरामद गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० देखि २०८०/८१ सम्मको दुई वर्षको अवधिमा सो परिमाणको काठ बरामद गरेको हो ।डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिलकुमार कर्णले दुई आर्थिक वर्षमा अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार २९१ क्युफिट काठ बरामद गरेको जानकारी दिए।
‘दुई आर्थिक वर्षमा वनपैदावार तथा वन्यजन्तु चोरी सिकारी गर्ने कार्यमा संलग्न भएका २२६ जनालाई पक्राउ गरेर मुद्दा अगाडि बढाएका छौं,’ उनले भने।कार्यालयले अवैध ढंगले दाउरा चोरी तस्करी गर्नेबाट पाँच सय क्यूफिट बराबरको दाउरा पनि बरामद गरेको छ।
यस्तै, डिभिजन वन कार्यालय पर्साले काठ दाउरा तस्करी गर्नेबाट १५ थान मोटरसाइकल पनि बरामद छ। कार्यालयले १४३ थान साइकल, ६ थान ट्याक्टर, ६ थान टायरगाडा, ४२ थान बन्चरो, २० थान काठ काट्ने आरा पनि बरामद गरेको छ।डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७९/८० मा १२६ वटा वन मुद्दा दायर गरेको थियो। जसमा १२० थान वनपैदावारसँग सम्बन्धित रहेका थिए। त्यस्तै ६ वटा मुद्दा भने वन्युजन्तु चोरी सिकारीसँग सम्बन्धित रहेको थियो।
आर्थिक वर्ष २०८०/८१ मा भने कार्यालयले ४२ वटा वन पैदावरसँग सम्बन्धित मुद्दा दायर रहेको छ। कार्यालय प्रमुख कर्णले चालु आवमा वनपैदावारसँग सम्बन्धित मुद्दालाई प्राथमिकतामा राखेर फर्छौट गर्ने बताए।उनले भने, ‘वनपैदावरसँग सम्बन्धित मुद्दाको आवश्यक कागजात संकलन गर्ने प्रक्रिया अघि बढेको छ। त्यसैले अब वन पैदावारसँग सम्बन्धित मुद्दा मुद्दा फर्छौटले गति लिनेछ।’ रासस




