
नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२” अन्तर्गत केन्द्रीय मूल्याङ्कन समितिको टोलीले जिल्ला प्रहरी परिसर, काठमाडौंको अनुगमन तथा निरीक्षण गरेको छ। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज कुमार के.सी. को संयोजकत्वमा रहेको मूल्याङ्कन टोलीले सोमबार परिसरको विभिन्न पक्षको निरीक्षण गरेको हो।
निरीक्षणका क्रममा टोलीले परिसरमा रहेका भौतिक पूर्वाधारहरूको अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धानमा अपनाइएका रणनीति र प्राप्त उपलब्धिहरू, स्रोत साधनहरूको उपयोग तथा व्यवस्थापन, सूचना–प्रविधिको प्रयोग, मानव स्रोत व्यवस्थापन, प्रशासनिक दक्षता र आन्तरिक नियन्त्रण प्रणालीबारे जानकारी लिएको थियो।
त्यस्तै, टोलीले विपद् व्यवस्थापन तथा न्यूनीकरण, अपराध अनुसन्धानमा प्रयोग हुने नविनतम प्रविधि, समुदाय–प्रहरी साझेदारी, जनचेतनामूलक कार्यक्रमहरू, र पीडित–मैत्री सेवा सञ्चालनको अवस्थाबारे पनि प्रत्यक्ष अवलोकन गरेको छ।
कार्यदक्षता मूल्याङ्कनको उद्देश्य नेपाल प्रहरी संगठनको समग्र कार्यसम्पादन सुधार गर्नुका साथै पेशागत पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायित्वलाई सुदृढ बनाउनु रहेको छ।




