पर्साका जनप्रतिनिधिहरुको प्राथमिकतामा स्वास्थ्यका कार्यक्रम नपरेको स्वास्थ्यकर्मीहरुको गुनासो

पर्साका जनप्रतिनिधिहरुको प्राथमिकतामा स्वास्थ्यका कार्यक्रम नपरेको स्वास्थ्यकर्मीहरुको गुनासो

पर्सा जिल्लामा रहेका पालिकाका जनप्रतिनिधिहरुको स्वास्थ्यका कार्यक्रममा सहभागीता न्यून हुने गरेको स्वास्थ्यका क्षेत्रमा कार्यरत सरोकारवालाहरुले गुनासो गरेका छन् ।जनस्वास्थ्यसंग सम्बद्ध कार्यक्रमहरुमा सहभागिताका लागि औपारिक निमन्त्रण दिदाँपनि जनप्रतिनिधिहरुले त्यसलाई अनेदखा गर्दै आएको र त्यसका कारण कार्यक्रम प्रभावकारी हुन समस्या हुन गरेको उनिहरुले गुनासो गरेका छन् ।

पर्साको ठोरी गाँउपालिकाको सभाकक्षमा शुक्रबार स्वास्थ्य कार्यालय पर्साले आयोजना गरेको ‘नियमित खोप कार्यक्रम शुद्धिकरणका लागि निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालाहरुसंग पैरवी कार्यक्रम’मा यस्तो गुनासो गरिएको हो ।

उक्त कार्यक्रममै जिल्लाका १४ वटै पालिकाका प्रमुख र उप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरुलाई अनिवार्य सहभागिताका लागि आमन्त्रण गरिएको थियो । तर कार्यक्रममा १४ मध्ये ठोरी, जगरनाथपुर र धोबिनी गरी ३ वटा पालिकाका प्रमुख मात्रै सहभागी भए । यस्तै कालिकामाई, पटेर्वा सुगौली, ठोरी,बिन्दवासिनी,जगरनाथपुर,धोबिनी र जिराभवानी गाँउपालिका गरी ७ वटा पालिकाका उप्रमुख मात्रै सहभागी भए ।

वीरगन्ज महानगरपालिका,पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका,छिपहरमाई गाँउपालिका,पकहाँ मैनपुर गाँउपालिका र सखुवा प्रसौनी गरी ७ पालिकाका प्रमुख र उप्रमुखमध्ये कोहिपनि सहभागी भएनन्।ती पालिकाहरुबाट स्वास्थ्य शाखा प्रमुखमात्रै सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले स्वास्थ्यजस्तो संवेदनशील विषयका बारेमा आयोजना गरिने कार्यक्रम जनप्रतिनिधिहरुको प्राथमिकतामा नपर्दा दुःख लाग्ने गरेको बताए ।

पालिकाका प्रमुख र उपप्रमुखहरु सहभागी नभइदिदाँ त्यसले कार्यक्रमको प्रभावकारिता घट्ने र कार्यक्रममा उठेका सवालहरु लागू गर्न पनि समस्या हुने गरेको उनले दुखेसो सुनाए ।तर केहि पालिकाका प्रमुख र उपप्रमुखहरु भने स्वास्थ्यका हरेक कार्यक्रममा सकृय सहभागी हुने गरेको सुखद पक्ष पनि रहेको उनले बताए ।

मधेस प्रदेशमै पर्सा जिल्ला स्वास्थ्यको सुचांकमा लगातार चार वर्षदेखि प्रथम हुन सफल हुदैं आएको बताउँदै उनले पालिकाका स्वास्थ्यकर्मी र कर्मचारीहरुको अथक मेहनत र लगनशीलताकै कारण पर्सा जिल्लाले त्यो सफलता प्राप्त गरिरहेको बताए ।

कार्यक्रममा बोल्दै जगरनापुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले आफ्नो पालिकामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुले इमान्दार र लगनशील भएर काम गर्दै आएको र त्यसको सुखद नजितापनि देखिएको बताए । स्वास्थ्य शाखा र मातहतका स्वास्थ्य चौकीहरुमा कार्यरत कर्मचारीहरुको सुझावलाई आँफुले सधैं गम्भीरतापूर्व लिएर स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको उनले बताए ।

यस्तै ठोरी गाँउपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीले स्वास्थ्यका हरेक कार्यक्रममा आँफु सहभागी हुदैं आएको बताइन् । उनले स्वास्थ्यसम्बद्ध कार्यक्रमको निम्ता आउँदा आँफु अन्य कार्यक्रम छाडेरपनि त्यहाँ जाने गरेको अनुभव सुनाइन् ।

यसैबीच शुक्रबारको कार्यक्रममा गत आर्थिक वर्ष २०८१/८२ मा पनि मधेस प्रदेशमा प्रथम हुन सफल पर्सा जिल्ला स्वास्थ्य कार्यालयका हरेक कार्यक्रममा महत्वूर्ण योगदान दिएका १४ वटै पालिकाका स्वास्थ्य शाखाका प्रमुखहरुलाई प्रशंसापत्रले सम्मानित गरिएको थियो ।

स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख विनोद झाको अध्यक्षतामा भएको शुक्रबारके कार्यक्रममा ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, धोबिनी गाँउपालिकाका अध्यक्ष मदन चौहान, जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, कालिकामाइ गाँउपालिकाकी उपाध्यक्ष राजमति बरैनी, पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो, ठोरी गाँउपालिकाकी उपँधयक्ष गोकुली कुमारी रेग्मी,बिन्दवासिनी गाँउपालिकाकी उपाध्यक्ष ज्योति चौरसिया,जिराभवानी गाँउपालिकाकी उपाध्यक्ष रेखा चौधरी, पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साह लगायतकाकोपनि सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close