
वीरगन्ज । पर्सा प्रहरीले हुण्डी कारोबारविरुद्ध कडा कारबाही गर्दै १० लाखभन्दा बढी नगद रकमसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार पक्राउ पर्नेहरूमा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ४ देउरवानाका २२ वर्षीय पवनकुमार साह, ३० वर्षीय मुस्ताक अन्सारी र १९ वर्षीय रामपुकार पासवान रहेका छन्।
डीएसपी कार्कीले दिएको जानकारी अनुसार भारतबाट नेपालतर्फ ना.१६ प ३०२० नम्बरको मोटरसाइकलमा सवार भई आएका उनीहरूलाई जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ गडैयाटोलमा नियमित चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको हो। चेकजाँच गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको १० लाख २ हजार १० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी कार्कीले बताए। उनका अनुसार अवैध आर्थिक कारोबार नियन्त्रण गर्न प्रहरीले निगरानी कडा बनाएको छ र यस्ता गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइनेछ।
पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार हुण्डी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक राजु कार्कीको सक्रियता र नेतृत्वमा पर्सामा अवैध हुण्डी कारोबार नियन्त्रणतर्फ प्रहरी प्रशासनले प्रभावकारी कदम चालेको स्थानीयहरूले बताएका छन्।




