
काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूमाथि लागू गरेको कडा र अमर्यादित नियमप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ। संघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा कलेज प्रशासनको व्यवहार पेशागत मर्यादा विपरीत रहेको ठहर गरेको हो।
संघका अनुसार कलेजले आवासीय चिकित्सकहरूलाई आवास, खाना र इन्टरनेट सुविधाका नाममा वार्षिक रूपमा अनिवार्य शुल्क तिर्न बाध्य पारेको छ। साथै, चिकित्सकहरूलाई कलेजकै होस्टेलमा बस्न बाध्य बनाइएको र भर्नाका क्रममा उनीहरूको सक्कल प्रमाणपत्रसमेत प्रशासनले नियन्त्रणमा राखेको गुनासो आएको छ।
विज्ञप्तिमा जनाइए अनुसार चिकित्सकहरूलाई दिनमा चार पटकसम्म हाजिर गर्न लगाउने व्यवस्था समेत लागू गरिएको छ, जसले उनीहरूको आत्मसम्मान र व्यक्तिगत स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरेको संघको भनाइ छ।
नेपाल चिकित्सक संघका महासचिव डा. सन्जिब तिवारीले यस्ता बाध्यकारी र मर्यादा विपरीतका निर्णयहरू तत्काल फिर्ता लिन कलेज प्रशासनसँग जोडदार माग गरेका छन्। संघले चिकित्सकहरूलाई स्वतन्त्र र सम्मानजनक वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्न समेत आग्रह गरेको छ।
संघले चेतावनी दिँदै भनेको छ कि यदि यस्ता प्रावधानहरू तुरुन्त खारेज नगरिए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुनेछ।



