“सर्लाही सीमा ‘सेटिङ’ को छायाँमाः तस्करी झन् मौलायो”

“सर्लाही सीमा ‘सेटिङ’ को छायाँमाः तस्करी झन् मौलायो”

सर्लाही जिल्लाको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा तस्करी गतिविधि नियन्त्रण भन्दा बाहिर जाँदै गएको संकेतहरू पछिल्लो घटनाक्रमले देखाएका छन् ।

सार्वजनिक रूपमा बाहिरिएका अडियो रेकर्ड, स्थानीय स्रोतका दाबी र निरन्तर भइरहेका अवैध कारोवारले सुरक्षा संयन्त्रकै भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन् ।
पछिल्लो समय मधेश प्रदेशका उच्च तहसम्म तस्करीसँग सम्बन्धित अडियो सार्वजनिक भए पनि त्यसको प्रभाव सर्लाहीमा देखिन सकेको छैन । बरु, तस्करी गतिविधि झन् व्यवस्थित र व्यापक बनेको स्थानीयको भनाइ छ । सीमामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही तत्वसँग ‘सेटिङ’ मिलाएर तस्करी सञ्चालन भइरहेको आरोप बारम्बार दोहोरिँदै आएको छ ।

सीमापारी भारतीय सुरक्षा बल एसएसबीले दैनिकजसो लागूऔषध र अवैध सामान बरामद गरिरहेको भए पनि ठूलो परिमाणमा हुने तस्करीलाई यसले खासै रोक्न नसकेको देखिन्छ । साना खेप समातिदा मुख्य कारोबारीलाई असर नपर्ने गरी नेटवर्क सञ्चालन भइरहेको विश्लेषकहरूको भनाइ छ ।

विशेषगरी दुई महिना अघि अर्थात फागुन १२ गते सशस्त्र प्रहरी असई सुरेश महतो माथि तस्करी सेटिङ मिलाउने आरोप गम्भीर रूपमा उठेका थिए । केही समयअघि चश्मावाली नामक महिला संग संग भएको संवाद सार्वजनिक अडियो प्रकरणपछि उनीमाथि कारबाहीको नाममा झारो टार्ने कार्य भएको थियो ।

महतो दुई दिनमै पुनः जिम्मेवारीमा फर्किएको घटनाले ‘उच्चस्तरीय संरक्षण’ को आशंकालाई थप बल पुर्याएको देखिन्छ । स्रोतका अनुसार उनीमार्फत सीमाका विभिन्न नाकाहरू—सग्राम्पुर, पर्सा, नारायणपुर, सखुअवा, त्रिभुवननगर, भाँडसर, सिमरा, मधुवनी देखि बलरा, लक्ष्मिपुर, सिरकटा, छतौना, सेढवा छनकी क्षेत्रसम्म—तस्करी सञ्जाल यतिखेर सक्रिय छ ।
यी क्षेत्रमा रहेका विओपी र प्रहरी चौकीहरूबीच समन्वयको नाममा हुने ‘अनौपचारिक समझदारी’ ले अवैध कारोबार सहज बनाइरहेको आरोप छ । नेपालबाट भारततर्फ चाइनिज स्याउ, लहसुन, खरबजुजाको विऊ, अखरोट, लगायतका विभिन्न सामानहरु र भारतबाट कपडा, स्पेयर पाट्र्स, प्रतिबन्धित औषधि लगायतका दैनिक उपभोग्यका सामग्री नेपाल भित्रर्याउने क्रम निरन्तर जारी रहेको बताइन्छ ।

बरहथवाका राजिव यादवले बलरा नगरपालिका ३ का सतन यादव र रुपेश यादव मार्फत भारतबाट कपडाको तस्करी गराएर बरहथवा सम्म ल्याउने गरेको छ । उक्त राजस्व छलीका सामानहरु सिरकटा र लक्ष्मिपुर नाका आसपासका खुला खेत तथा दुर्गम बाटाहरू तस्करीका मुख्य मार्ग बनेका छन्। यसले न केवल राज्यको राजस्वमा क्षति पुर्याएको छ, बरु सीमाक्षेत्रको सुरक्षा व्यवस्थामै गम्भीर चुनौती थपेको छ।

त्यसैगरी, बलरा नपामा पर्ने छनकी सेढवाका शम्भु साहले दैनिक रुपमा मदिरा भारत तर्फ पठाउने गरेको तथा भारतबाट नेपालमा प्रतिबन्ध रहेका बचवा माछा ल्याउने गरेको गम्भीर आरोप ति श्रोतले लगाए । विडम्बना, नियन्त्रण गर्ने जिम्मेवारीमा रहेका घुमुवा प्रहरी र युनिट इन्चार्जहरू नै यसमा संलग्न रहदा नियन्त्रण हुन नसकेको बुझिएको छ ।

यस विषयमा सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाहीका प्रमुख एसपी अमरबहादुर खत्रीले सीमामा निगरानी कडा बनाइएको दाबी गरे । असई घुमुवा कहाँ छन् भन्ने प्रश्नमा उनले गणमै रहेको स्वीकारे । तर, वास्तविकता भने त्यसको ठीक उल्टो देखिने स्थानीयको गुनासो छ ।

स्मरण रहोस, सर्लाहीको सीमामा बढ्दो तस्करी केवल आर्थिक अपराध मात्र होइन, यो राज्यको शासन प्रणालीमाथिको चुनौती पनि हो । यदि समयमै कडा र निष्पक्ष कदम चालिएन भने, यो समस्या अझै गहिरिँदै जाने र त्यसको असर राष्ट्रिय सुरक्षासम्म पुग्ने जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन विशेषज्ञहरु बताउँछन् ।
फागुन १२ गते तराई टप ले व्रेक गरेका असई महतो र चश्मावाली बीचको अडियो पश्चात समेत कारवाही नहुनुको पछाडी उच्च पदस्थ पदाधिकारीको साँठगाँठ पुष्टि भएको छ । प्रस्तुत छ सोही समयमा भएको अडियोलाई पुन राखिएको छ। सभार:- तराई टप

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close