कार्यवाहक प्रमुखको जिम्मेवारी पाएलगत्तै आलमको सक्रियता : प्रमुख प्रशासकीय अधिकृत बोहरासहित महानगरमा छड्के अनुगमन

कार्यवाहक प्रमुखको जिम्मेवारी पाएलगत्तै आलमको सक्रियता : प्रमुख प्रशासकीय अधिकृत बोहरासहित महानगरमा छड्के अनुगमन

वीरगन्ज — वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले जिम्मेवारी सम्हालेलगत्तै प्रशासनिक अनुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सक्रियता देखाउनुभएको छ। सेवाग्राहीका गुनासो सम्बोधन गर्ने तथा कार्यालयभित्रको ढिलासुस्ती नियन्त्रण गर्ने उद्देश्यले कार्यवाहक प्रमुख आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले शुक्रबार महानगरका विभिन्न शाखामा आकस्मिक (छड्के) अनुगमन गर्नुभएको हो।

शुक्रबार बिहान करिब १०:३० बजे गरिएको अनुगमनका क्रममा उहाँहरू महानगरका विभिन्न शाखा तथा फाँटमा पुगेर कर्मचारीहरूको उपस्थितिको अवस्था निरीक्षण गर्नुभएको थियो। अनुगमनका क्रममा करिब २० जना कर्मचारी आफ्नो कार्यकक्षमा अनुपस्थित भेटिएको महानगरले जनाएको छ।

अनुगमनपछि प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले अनुपस्थित कर्मचारीहरूको विवरण प्रमाणीकरण गरिने र नियमानुसार आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभयो।

उहाँले भन्नुभयो, “अनुगमनका क्रममा कार्यकक्षमा नदेखिएका कर्मचारीहरूमध्ये केही बिदामा रहेको, केही फिल्डमा गएको र केही ढिलो आएको पाइएको छ। उहाँहरूले बुझाउने विवरणको विस्तृत प्रमाणीकरण गर्नेछौँ। लापरबाही वा गल्ती पुष्टि भएमा नियमानुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।”

कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले छड्के अनुगमनको उद्देश्य कारबाही मात्र नभई सेवाग्राहीका समस्या बुझ्नु र कर्मचारीहरूले कार्यसम्पादनका क्रममा भोगिरहेका व्यवहारिक कठिनाइसमेत पहिचान गर्नु रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “महानगरमा सेवा लिन आउने नागरिकबाट प्राप्त गुनासोलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ। साथै, पछिल्लो आन्दोलनपछिको परिवेशमा सेवा प्रवाह र कार्यालय व्यवस्थापनमा कर्मचारीहरूले भोगिरहेका व्यवहारिक समस्या बुझ्न पनि यो अनुगमन गरिएको हो।”

महानगर नेतृत्वले प्रशासनिक अनुशासन, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close