
मधेस खबर अनलाइन न्युज पोर्टलकी सम्पादक तथा बीबीसी नेपाली सेवाकी पत्रकार माधुरी महतो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएकी छन्।
शनिबार वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको ‘वृहत महिला सम्मेलन २०८२’ मा पूर्वराष्ट्रपति भण्डारीले महतोलाई दोशल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मान गरेकी हुन्।
‘नारी शक्ति: समर्पण र सम्मान’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा पर्सा र बारा जिल्लाका विभिन्न २५ जना महिलालाई पनि सम्मान गरिएको थियो। उनीहरूले उद्योग, शिक्षा, स्वास्थ्य लगायत विविध क्षेत्रमा लामो समयदेखि समाजमा उल्लेखनीय योगदान दिँदै आएका थिए।
कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले बारा र पर्साका महिलाहरू परिवारको मात्र होइन, सम्पूर्ण समाजको समृद्धि र प्रगतिमा महत्वपूर्ण आधार रहेको बताउँदै यस्ता प्रेरणादायी महिलाहरूको पहिचान गरी सम्मान गरिएकोमा आयोजक संघलाई धन्यवाद दिइन्।




