
बेबी चक्रवर्ती। पश्चिम बंगाल तथा सिक्किम क्षेत्रीय आयकर विभागको आयोजनामा शुक्रबार अलिपुरस्थित धनधान्य सभागृहमा १६७औँ आयकर दिवस भव्य रूपमा मनाइएको छ।
कार्यक्रममा पश्चिम बंगालका वित्तमन्त्री स्वपन दासगुप्ता, प्रख्यात टेनिस खेलाडी लिएन्डर पेस तथा पश्चिम बंगाल–सिक्किम क्षेत्रकी प्रमुख मुख्य आयकर आयुक्त सुरभि वर्मा गर्गको उपस्थिति रहेको थियो। समारोहका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने आयकर विभागका कर्मचारी तथा अधिकृतहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
वित्तमन्त्री स्वपन दासगुप्ताले राष्ट्रको समृद्धि र विकासका लागि सुदृढ संस्था तथा जनविश्वास अत्यन्त महत्वपूर्ण हुने बताए। उनले कर तिर्ने संस्कृतिको विकास र पारदर्शी प्रशासन विकसित अर्थतन्त्रको प्रमुख आधार भएको उल्लेख गरे।
प्रमुख मुख्य आयकर आयुक्त सुरभि वर्मा गर्गले विश्वास, पारदर्शिता र निष्पक्षतामा आधारित कर प्रशासन निर्माण गर्न विभाग प्रतिबद्ध रहेको बताइन्। उनले स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षाजस्ता महत्वपूर्ण क्षेत्रमा आवश्यक स्रोत व्यवस्थापनमा आयकरको भूमिका अत्यन्त महत्वपूर्ण रहेको पनि उल्लेख गरिन्।
कार्यक्रममा आयकर ऐन, २०२५ लाई देशको कर प्रणाली सुधारतर्फको ऐतिहासिक कदमका रूपमा प्रस्तुत गरिएको थियो। उक्त ऐनले कर प्रणालीलाई अझ सरल, पारदर्शी, न्यायोचित र प्रभावकारी बनाउनुका साथै स्वेच्छिक कर अनुपालनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको जनाइएको छ।




