ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गरी अवैध बिक्री गर्ने गिरोह पक्राउ, ७ जना नियन्त्रणमा

ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गरी अवैध बिक्री गर्ने गिरोह पक्राउ, ७ जना नियन्त्रणमा

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गरी अवैध रूपमा बिक्री–वितरण गर्दै आएको आरोपमा ७ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) को बरौनी टर्मिनल, बिहार (भारत) बाट नेपाल आयल निगमको हवाई इन्धन डिपो, सिनामंगल (काठमाडौं) का लागि ल्याइँदै गरेको २० हजार लिटर क्षमताको ट्याङ्करबाट बाटोमै इन्धन चोरी गरी वीरगञ्जस्थित सौदागर आयल सेन्टर मा बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा साउन २२ गते साँझ करिब ५:२० बजे प्रहरीले छापा मारेको थियो।

प्रहरी टोली वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा रहेको सौदागर आयल सेन्टर पुगेको बेला ना.७ ख १५३३ नम्बरको ट्याङ्करको सिल नफुटाई फलामको पाइपमा जडान गरिएको हुकको प्रयोग गरी माथिल्लो भागबाट पेट्रोलियम पदार्थ चोरी गरी निकालिरहेको अवस्थामा फेला पारेको जनाएको छ। घटनास्थलबाट ट्याङ्करसहित घटनामा संलग्न ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज–३ मालपोत चोकका ५५ वर्षीय सुनेन मियाँ (सौदागर आयल सेन्टरका सञ्चालक), वीरगञ्ज–१५ लक्ष्मणवाका २३ वर्षीय असलम हवारी, वीरगञ्ज–११ श्रीपुरका २१ वर्षीय रफिक मियाँ, हेटौंडा उपमहानगरपालिका–११ का २० वर्षीय सन्देश राना मगर, हेटौंडा–१० का ४६ वर्षीय केशरराम सुनार, हेटौंडा–१४ का ५० वर्षीय मन्द सिंह लामा तथा हेटौंडा–१४ का २७ वर्षीय उमेश राना मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्ल का अनुसार घटनामा प्रयोग भएको ट्याङ्कर नियन्त्रणमा लिइएको छ। साथै पेट्रोलियम पदार्थ चोरी तथा अवैध कारोबारमा संलग्न अन्य व्यक्ति वा सञ्जालबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close