तरुण दल पर्साको अध्यक्षमा यादव मनोनित

तरुण दल पर्साको अध्यक्षमा बाल्मिकी यादव मनोनित

वीरगञ्ज । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल पर्साको जिल्ला अध्यक्षमा बाल्मिकी यादव मनोनित भएका छन्।

तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालाले पर्साको रिक्त रहेको जिल्ला अध्यक्ष पदमा यादवलाई मनोनित गरेका हुन्। यसअघि तरुण दल पर्साको अध्यक्षमा विकास तिवारी रहेका थिए।

युवालाई संगठनमा थप सक्रिय बनाउँदै तरुण दललाई जिल्लास्तरमा थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउने उद्देश्यले यादवलाई जिम्मेवारी दिइएको बताइएको छ।

नवनियुक्त अध्यक्ष यादवले पर्साका विभिन्न पालिका तथा वडा तहसम्म संगठन विस्तारलाई प्राथमिकता दिँदै तरुण दललाई थप गतिशील र युवामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले युवाको हकहित, सामाजिक सेवा, लोकतान्त्रिक मूल्य–मान्यता तथा जनसरोकारका विषयमा सक्रिय भएर काम गर्ने बताएका छन्।

यादवको नेतृत्वमा पर्सा तरुण दलले संगठन सुदृढीकरण, युवा सहभागिता वृद्धि तथा नेपाली कांग्रेसको संगठनलाई स्थानीय तहसम्म थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तरुण दलले पछिल्लो समय जिल्ला तहमा संगठन विस्तार, क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता वितरण अभियानलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ।

यादव जिल्ला अध्यक्षमा मनोनित भएसँगै पर्साका युवा कांग्रेस कार्यकर्तामाझ नयाँ उत्साह थपिएको बताइएको छ। नवनियुक्त अध्यक्ष यादवलाई कांग्रेसका विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close