
वीरगन्ज । ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ परेका अनमोल छपोलिया भनिने अनमोल साह हाजिरी जमानीमा रिहा भएपछि पर्सा प्रहरीको अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ।
अदालतको आदेशपछि पक्राउ परेका साहलाई अनुसन्धानका क्रममा प्रहरीले ‘विशेष सुविधा’ दिएको पीडित पक्षले आरोप लगाएको छ। पक्राउ परेलगत्तै साहले आफू बिरामी भएको बताएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको र त्यहाँबाट रेफर गरी प्रभु अस्पतालको डिलक्स क्याबिनमा राखिएको स्रोतको दाबी छ।
तर, बुधबार हाजिरी जमानीमा रिहा भएलगत्तै साह अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएको अस्पताल स्रोतले जनाएको छ। यस घटनाले साहको स्वास्थ्य अवस्थामाथि समेत प्रश्न उठाएको छ। पीडित पक्षले भने प्रहरी हिरासतबाट जोगिन साहले बिरामी भएको बहाना बनाएको आरोप लगाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार अदालतले १० दिनभित्र अनुसन्धान सम्पन्न गर्न निर्देशन दिएको थियो। सो अवधिमा थुनामा राख्न आवश्यक नदेखिए बाहिरै राखेर अनुसन्धान गर्न सकिने आदेश अदालतबाट आएको र सोही आदेशका आधारमा साहलाई हाजिरी जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ।
तर, पीडित पक्षले अदालतबाट पक्राउ आदेश जारी भएपछि पनि प्रहरीले प्रभावकारी र समयमै अनुसन्धान नगरेको आरोप लगाएको छ। उनीहरूले आर्थिक तथा पहुँचका आधारमा अनुसन्धान प्रभावित पारिएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।
साहविरुद्ध मुद्दा दायर गरेका पन्नालाल प्रसादले आफूले न्याय पाउनेमा समेत आशंका उत्पन्न भएको बताएका छन्। आफ्नो लाखौँ रुपैयाँ बराबरको धनमाल ठगी भएको दाबी गर्दै प्रसादले प्रहरीबाटै साहलाई उन्मुक्ति दिलाउने प्रयास भएको आरोप लगाए।
‘अदालतले पक्राउ गर्न आदेश दिएपछि पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका नाममा कस्तो सुविधा दिइयो र किन यति छिट्टै बाहिर निकालियो ?’ भन्ने प्रश्न पीडित पक्षले उठाएको छ।
यसअघि त्रिशाला रेष्टुरेन्टमा कार्यरत पर्सागढी निवासी सुनिता तामाङको रहस्यमय मृत्यु प्रकरणमा पनि अनमोल साहसहित दुई युवक पक्राउ परेका थिए। उक्त घटनामा साह मात्रै तत्कालै हाजिरी जमानीमा रिहा भएको भन्दै त्यतिबेलासमेत प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको पीडित पक्षको भनाइ छ।
पछिल्लो ठगी प्रकरणमा पनि साहले आर्थिक तथा राजनीतिक पहुँच प्रयोग गरी प्रहरी अनुसन्धानबाट उन्मुक्ति पाएको पीडित पक्षको आरोप छ। उनीहरूले कानुन सबैका लागि समान हुनुपर्ने भन्दै पहुँच र प्रभावका आधारमा अनुसन्धान प्रभावित हुन नहुने बताएका छन्।
यसैबीच, पछिल्लो समय चर्चामा रहेको जेन्जी आन्दोलनको मर्म र भावनाविपरीत प्रहरी प्रशासनको कार्यशैली देखिएको पीडित परिवारले आरोप लगाएको छ। उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी आफूलाई न्याय दिलाउन माग गरेका छन्।
यता, प्रहरीले भने अदालतको आदेशअनुसार नै साहलाई हाजिरी जमानीमा राखेर अनुसन्धान अघि बढाइएको जनाएको छ। सभार- राष्ट्रिय सहारा दैनिकबाट



