
“उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने मूल नाराका साथ शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरगञ्ज–१०, रानीघाटको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाका सञ्चालक समिति अध्यक्ष शिवजी प्रसाद साह कलवारको अध्यक्षतामा वीरगञ्जस्थित नगरसभाको सभा हलमा साधारण सभा सम्पन्न भएको हो।
साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष कलवारले सहकारी संस्था बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्ने महत्वपूर्ण संस्था भएको बताउनुभयो। उहाँले आर्थिक कारोबारसँगै सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा समेत संस्थाले सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो।
अध्यक्ष कलवारका अनुसार संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत रसुवाका बाढीपीडितलाई आर्थिक सहयोग उपलब्ध गराउनुका साथै १६औँ वार्षिक साधारण सभाको अवसरमा खुला रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ।
उहाँले संस्थामा आबद्ध शेयरधनी, बचतकर्ता तथा सर्वसाधारणको विश्वास नै सहकारीको महत्वपूर्ण पुँजी भएको बताउँदै पारदर्शिता, जवाफदेहिता र सुशासनलाई संस्थाले प्राथमिकतामा राखेर काम गर्दै आएको उल्लेख गर्नुभयो। सहकारीको दिगो विकासका लागि सदस्यहरूको सक्रिय सहभागिता, आपसी सहकार्य र आर्थिक अनुशासन आवश्यक रहेकोमा समेत उहाँले जोड दिनुभयो।
साधारण सभामार्फत संस्थाको आर्थिक तथा संस्थागत गतिविधिबारे जानकारी आदानप्रदान गर्नुका साथै आगामी दिनमा सहकारीलाई थप व्यवस्थित, पारदर्शी र उद्यमशीलतामैत्री बनाउँदै लैजाने विषयमा छलफल गरिएको थियो।
यसैबीच, संस्थाका सचिव शर्मानन्द कुशवाहाले शिवम सहकारी समाजप्रति उत्तरदायी र जवाफदेही संस्थाका रूपमा अघि बढिरहेको बताउनुभयो। उहाँका अनुसार साधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी र उत्कृष्ट शेयरधनी गरी चार जनालाई प्रशंसापत्रसहित सम्मान गरेको छ।
त्यस्तै, संस्थाको वार्षिक उत्सवको अवसरमा आयोजित खुला रक्तदान कार्यक्रममा दुई महिलासहित १०६ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेहरूमा प्रदीपकुमार ढुङ्गाना, रामबाबु, अजित चौधरी, प्रगति थापा, अशोक गुप्ता, सुनिल महतो, लालबाबु राम, सन्दीपकुमार, राजाबाबु शाह सोनार, वीरेन्द्र शाह, मन्दिपप्रसाद शाहलगायत रहेका छन्।
रक्तदान कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेलले गर्नुभएको थियो। कार्यक्रममा सामाजिक संस्था जिल्ला समन्वय समितिका अध्यक्ष इब्राहिम देवानको समेत उपस्थिति रहेको थियो।
साधारण सभामा संस्थाका उपाध्यक्ष राजनारायण प्रसाद कलवार, सचिव शर्मानन्द कुशवाहा, प्रबन्धक राजेन्द्रप्रसाद जैसवाल, सञ्चालक समिति सदस्यहरू नासिरुद्दिन अन्सारी, भोला प्रसाद कलवार, वीरेन्द्र कुमार तथा रिजवान अहमदलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण संस्थाका कर्जा प्रमुख डिके जैसवालले गर्नुभएको थियो।
संस्थाले आगामी दिनमा आर्थिक कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाउँदै सदस्यहरूको आर्थिक सशक्तीकरणसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत निरन्तरता दिने जनाएको छ।




