
रंगप्रसाद तिमिल्सैना
लम्की/ जेठ १६
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले कैलाली जिल्लामा भारतबाट नेपाल फर्किनेहरुका लागि नि:शुल्क यातायात सेवा शुरु गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको साझेदारी एवं युनिसेफ नेपालको सहयोगमा कैलाली जिल्ला शाखाद्वारा संचालित “कोभिड १९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम” ले भारतदेखी धनगढी गौरीफन्टा नाकाबाट नेपाल फर्किने कोरोना पोजेटिभहरुका लागि कैलाली जिल्लाभित्र सम्बन्धित व्यक्तिको होम आइसोलेसन तथा संस्थागत आइसोलेसन सम्म नि:शुल्क यातायात सेवा शुरु गरेको हो । भारतदेखी नेपाल फर्किने क्रममा सिमामा एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएकाहरुलाई एक महिनासम्मका लागि नि:शुल्क यातायात सेवा संचालन गरिने नेपाल रेडक्रस सोसाइटी कैलाली कोभिड १९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रमका कार्यक्रम संयोजक बिकास नेपालीले जानकारी दिनुभएको छ ।
निशुल्क यातायात सेवाको उदघाटन धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति उत्तम जोशीले शनिबार संयुक्त रुपमा गर्नुभएको हो ।
निशुल्क यातायात सेवा अन्तर्गत पहिलो दिन ८ जनालाई र दोस्रो दिन १२ जनालाई गरि २० जनालाई सेवा प्रदान गरेको छ । पहिलो दिन ७ जना सुखड र १ जना भजनीका कोभिड पोजेटिभ लाई तथा दोस्रो दिन १२ जना भजनीका कोभिड पोजेटिभलाई होम आइसोलेसन एवं संस्थागत आइसोलेसन सम्म पुर्याइएको कार्यक्रम संयोजक नेपालीले जानकारी दिनुभएको छ । हाललाई कैलाली जिल्लाभित्र सेवा दिने उदेश्य राखिएको भएपनी केहीदिन पछि सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाहरुमा समेत निशुल्क यातायात सेवा प्रदान गरिने रेडक्रसले जनाएको छ ।
कार्यक्रम अन्तर्गत रेडक्रसले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि लम्कीचुहा नगरपालिका , भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकामा एकहप्ता सम्म चेतनामूलक सूचना माइकिङ, गौरीफन्टा नाकाबाट नेपाल भित्रीने यात्रुहरुका लागि हेल्पडेक्स स्थापना गर्नुका साथै खानेपानीको समेत व्यवस्थापन गर्दै आएको छ ।




