एमालेका प्रमुख सचेतक ढकाल अर्को विवादमा मुछिए

बुटवल । अपहरण शैलीमा प्रदेश सांसद विमला वलीलाई मुख्यमन्त्री निवासमै ‘बन्धक’ बनाएको आरोप लागेपछि लुम्बिनी प्रदेशस्थित एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल फेरि विवादमा तानिएका छन् । १५ साउनमा विमला वलीको घर पुगेर एमालेमा फर्कन दबाब दिएका ढकालले नेपालगञ्ज पुर्‍याइदिने भन्दै गाडीमा राखेर ‘अपहरण’ शैलीमा मुख्यमन्त्री शंकर पोखरेलको निवास पुर्‍याएको आरोप विमलाले लगाएकी छन् ।यद्यपि ढकालले आरोपको खण्डन गर्दै ‘विमलाकै अनुरोधमा मुख्यमन्त्री निवासमा लगेको’ बताइसकेका छन् ।

ढकाल यसअघि गाडी खरिद प्रकरणमा जोडिएका थिए । सफल अटो इन्टरनेसनल बुटवलको समन्वयमा सिप्रदी ट्रेडिङ प्रालि काठमाडौंबाट १३ वटा गाडी खरिद गर्दा उनको नाम पनि जोडिएको थियो । बुटवलको सफल अटो ढकालको साझेदारमा रहेको कम्पनी हो । त्यो बेला प्रदेशसभाको सार्वजनिक लेखा समितिले गाडी खरिदमा अनियमितता भएको ठहर गर्दै ५५ लाखभन्दा बढी रकम भुक्तानीबाट रोकेको थियो ।

भुक्तानी रोकिए पनि ढकालमाथि कारबाही भएको थिएन । मुख्यमन्त्री शंकर पोखरेलको साथ पाएपछि उनी काबाहीबाट बचेका थिए । ढकालमाथि आरोप छ- मुख्यमन्त्री पोखरेल अल्पमतमा परेपछि सरकार टिकाउन मुख्यमन्त्रीकै निर्देशनमा ढकाल सक्रिय छन् । त्यसैको पछिल्लो उदाहरण हो विमला वली अपहरण प्रकरण । यसअघि ढकाल जसपा सांसद पुर्मती ढेँगालाई आफ्नो पक्षमा ल्याउन सक्रिय थिए । त्यसबेला ठूलै रकमको चलखेल भएको भन्दै उनको आलोचना भएको थियो ।

विमलाले ढकालले नेपालगञ्ज लैजाने भनेर गडीमा बस्न भनेपछि मुख्यमन्त्री निवासमा ल्याएको र बन्धक जस्तै गरी राखेको आरोप लगाएकी छन् । यो आरोपको खण्डन ढकालले गरिसकेका छन् । तर, ढकालले आरोप लाग्नु एक दिनअघि रिपोर्टर्स क्लब बुटवलको कार्यालयमा विमला नेपालगञ्जमा उपचार गराइरहेको बताएका थिए । ढकाल पछिल्लो समय मन्त्री बन्ने लाइनमा थिए । १९ वैशाखमा पोखरेल दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएपछि उनलाई मन्त्री बनाउने चर्चा थियो । तर, माधव नेपाल पक्षका मानिने भोजप्रसाद श्रेष्ठलाई ढकालले पाउने भनेको मन्त्रालयको जिम्मेवारी दिइयो ।

एकपछि अर्को विवादमा मुछिँदै गए पनि ढकालले त्यसलाई अस्वीकार गर्दै आएका छन् । गाडी खरिद प्रकरणमा आफूलाई जबर्जस्ती जोडिएको उनी बताउँछन् । ‘प्रदेशसभाले ई-टेन्डर गरेर गाडी खरिद गरेको हो । यसमा मलाई अतिरञ्जित बनाएर जोड्ने काम गरियो । यसमा मेरो संलग्नता थिएन,’ ढकालले भने । उनीमाथि लुम्बिनीको स्थायी राजधानी दाङ बनाउन जोडतोडले लागेको आरोप पनि छ । तर, राजधानीका विषयमा भने आफू पार्टीको निर्णयको पक्षमा उभिएको बताउँछन् । ‘अरु साथीहरूले के भन्नुभयो, के गर्नुभयो, त्यो म जान्दिनँ । तर, प्रमुख सचेतकको जिम्मेवारी र हैसियतले ह्विप कार्यान्वयनमा म लागेकै हो,’ उनले भने ।

निजी अस्पताल सञ्चालकलाई लुम्बिनी प्रादेशिक अस्पतालको मेसु बनाउन मन्त्रिपरिषद‍्मा प्रस्ताव

निजी अस्पतालका सञ्चालक डा. ईन्द्र ढकाललाई लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेण्डेण्टमा नियुक्त गर्न लागिपरेको आरोप पनि उनीमाथि छ । प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठ, हालका लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य भट्टराईसँग मिलेर ढकालले मध्यस्थकर्ताको रूपमा पहल गरेको आरोप लागेको छ । हालका अस्पतालका प्रमुख डा. राजेन्द्र खनाललाई राजीनामा गराउन मुख्यमन्त्रीलाई फोन हान्न लगाउने काम नेता ढकालबाटै भएको खनाल निकटहरू बताउँछन् ।

स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले संघमातहतका कर्मचारी परिचालनमा असहज भएको र डा. राजेन्द्रमा समन्वय तथा टिम वर्कमा केही कमजोरी देखिएको गुनासो आएको बताए । उनले अस्पतालालाई अझै राम्रो बनाउने प्रयासमा रहेकाले आवश्यकता हेरेर परिर्वतन गर्ने या नगर्ने निर्णय गर्ने बताए ।

फिल्मकर्मीले कोरोना बिरुद्धको खोप लगाए

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको संयोजनमा फिल्मकर्मीले कोरोना बिरुद्धको खोप लगाउन सुरु गरेका छन् ।

नेपाल सरकारले उपलब्ध गराएको भेरोसेल खोप आइतबार बिहानैबाट फिल्मकर्मीले लगाउन सुरु गरेको हो । फिल्मकर्मीका लागि पाटन ढोकास्थित पुरानो अशोक चलचित्र घर परिसरमा खोप कार्यक्रम राखिएको छ ।

बिहान ९ बजेदेखि सुरु भएको खोप कार्यक्रम दिउँसो ४ बजेसम्म चल्ने कलाकार संघले जानकारी दिएको छ ।
कलाकार संघले खोपका लागि तालिका समेत बनाएको छ । जसमा बिहान ९ देखि १० बजेसम्म कलाकारलाई, ११ देखि १२ बजेसम्म फिल्म निर्माता र सिनेमा हल व्यवसायीलाई, १ देखि २ बजेसम्म प्राविधिकलाई, २ देखि ३ बजेसम्म नृत्य र द्वन्द्व कलाकारलाई, ३ देखि साढे ३ बजेसम्म निर्देशकलाई र साढे तीन बजेपछि जनजाति महासंघ र अन्य संघसंस्थामा आबद्ध रहेका फिल्मकर्मीलाई भेरोसेल खोपको पहिलो डोज लगाइने कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।

कलाकार संघले निकालेको तालिका अनुसार नै फिल्मकर्मीहरु कोरोनाविरुद्धको खोप लगाइरहेका छन् ।

अभिनेता भुवन केसी, पल शाह, पुष्प खड्का, धिरेन शाक्य, रेजिना उप्रेतीलगायत करिब एक हजार फिल्मकर्मीले समाचार तयार गर्दासम्म खोप लगाईसकेको कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताए ।

सरकारले फिल्मकर्मीलाई दोस्रो मात्राको भेरोसेल खोप पनि चाँडै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । कोरोनाविरुद्धको खोप लगाएपछि फिल्म क्षेत्र पुरानो लयमा फर्किनेमा कलाकार संघले बिश्वास लिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close