
अजित भुजेल
बिरगंज , असोज ०३ गते आइतबार ।
एकै परिवारका दुई दाजुभाईको पोखरीमा डुबेर मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १५ दुवै दाजुभाईको वडा नं. १२ मुर्लीमा रहेको पोखरीमा उनीहरुको शव फेला परेको हो । वीरगंज–१५ बस्ने दिनेश प्रसाद साहका १७ वर्षीय छोरा मुन्ना साह (आशिष् गुप्ता) र सोही वडामा बस्ने उमेश प्रसाद साहका छोरा १२ वर्षीय प्रितम गुप्ताको मृत्यु भएको हो ।
उनीहरु २ बजे घरबाट खेल्न भनी निस्किएका थिए तर दिउँसो ४ बजेसम्म घर नफर्किएपछि उनीहरुको परिवारजनले हराएको भन्ने शंका गरी आफन्तजन तथा विभिन्न स्थानमा गई सोधपुछ गर्न थालेका थिए । सोही क्रममा सोधपुछ गर्दै जाँदा वडा नं. १२ मा रहेको पोखरी नजिक उनीहरुले लगाएको लुगा तथा चप्पल भेटिएपछि पोखरीमा पौडी खेल्ने क्रममा डुबेको भनी शंका लागी स्थानीय गाउँले तथा प्रहरीको सहयोगले पोखरीमा खोज्दा उनीहरुको शव फेला परेको थियो । प्रहरीले पोखरीमा ६ बजे साँझदेखि खोजी गर्दागर्दै ४ घण्टापछि करिब राती १० बजेको समयमा उनीहरुको शव फेला पारेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।
परिवारजन तथा प्रहरीले त्यहाँबाट नजिक पर्ने तराई हस्पिटलमा उपचारको लागि लैजादा अस्पतालका डाक्टरहरुले उनीहरुलाई मृत घोषणा गरेका थिए । अस्पतालले मृत घोषणा गरेपछि निज बालकहरुलाई नियमानुसार पोस्टमार्टमको लागि नारायणी अस्पतालमा लगिएको छ ।
उनीहरु दुवै जना सगरमाथा बोर्डिङ्ग स्कुलको कक्षा ९ मा आशिष गुप्ता र प्रितम गुप्ता कक्षा ६ मा अध्यनरत रहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतमले जनाएका छन् ।




