प्रहार डेलीको खुलासापछि बारा प्रहरीको विज्ञप्ति: पीडित भनिएका व्यक्तिलाई जाहेरी दिन आग्रह

प्रहार डेलीको खुलासापछि बारा प्रहरीको विज्ञप्ति: पीडित भनिएका व्यक्तिलाई जाहेरी दिन आग्रह

सामाजिक सञ्जाल तथा अनलाइन सञ्चारमाध्यममा सार्वजनिक भएको बारास्थित यातायात व्यवस्था कार्यालयको भिडियो प्रकरणमा जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहार डेलीका सम्पादक राहुल गुप्तामार्फत सार्वजनिक भएको भिडियोका सम्बन्धमा यातायात व्यवस्था कार्यालय बाराका कार्यालय प्रमुख चिन्तन आचार्यलाई सोधपुछ तथा अनुसन्धानका लागि प्रहरी कार्यालयमा ल्याइएको जानकारी दिएको छ।

प्रहरीका अनुसार भिडियोमा आफू दुर्व्यवहारमा परेको दाबी गर्ने व्यक्ति कलैया उपमहानगरपालिका–२३ निवासी अरुण कुशवाह रहेको खुलेको छ। उनलाई घटनाबारे जाहेरी दर्ता गर्न जानकारी गराइए पनि हालसम्म जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई जाहेरी दर्ता नगरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रहरीले घटनाको निष्पक्ष अनुसन्धानका लागि पीडित भनिएका अरुण कुशवाहलाई यथाशीघ्र जिल्ला प्रहरी कार्यालय बारामा उपस्थित भई जाहेरी दर्ता गर्न आग्रह गरेको छ। साथै, जाहेरी प्राप्त भएपछि कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ।

यसैबीच, उक्त भिडियो करिब तीन महिनादेखि यातायात व्यवस्था कार्यालय बाराका कार्यालय प्रमुख चिन्तन आचार्यले सार्वजनिक नगरी राखेको आरोप छ। प्रहार डेलीका सम्पादक राहुल गुप्ताले खोज पत्रकारितामार्फत उक्त भिडियो सार्वजनिक गर्दै घटनालाई बाहिर ल्याएका थिए। भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराले चिन्तन आचार्यलाई सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close